झापा। हल्दिबारी गाउँपालिकाको दोस्रो चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
४ महिना भित्रमा सबै वडा कार्यालय साथै शाखाहरू बाट के कस्तो कामहरु सम्पन्न भए, कुन कुन कामहरु कार्यान्वयन को प्रकृयामा रहेका छन् लगायतका विषयमा ५ वटै वडाका वडा सचिव र पालीकाका ११ शाखाका गतिविधिहरू शाखा प्रमुखहरूले तथ्य सहित प्रस्तुत गरेका थिए।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद चापागाई,वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा सहित जनप्रतिनिधिहरू साथै सबै शाखाका प्रमुखहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सबै वडाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि जनप्रतिनिधि र कर्मचारी बिच समन्वयकारी भूमिका निर्वाह गरिरहनु पर्ने धारणा राखेका थिए।
यस्तै उपाध्यक्ष मैनालीले आगामी दिनमा वार्षिक बजेट तयार गर्दा जनप्रतिनिधि र कर्मचारी विच छलफल गरेर अझै प्रभावकारी कार्यक्रम समेट्नुपर्ने भनाई राखेकी थिइन् भने हल्दिबारी २ का वडाध्यक्ष शुकलाल राजवंशीले कर्मचारी र जनप्रतिनिधि बिचको सहकार्य र समन्वयले नै कामहरू सम्पन्न र पारदर्शी भएको धारणा राखेका थिए। प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद चापागाईले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको संचालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।
हल्दिबारी गाउँपालिकाले हरेक ४ महिनामा समिक्षा कार्यक्रम गर्दै आएको छ।