राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।
“परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ,” उहाँले भन्नुभयो, “यसका लागि प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण छ ।”प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो । उहाँले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासङ्घको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले महासङ्घको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय समेत उद्घाटन गर्नुभयो ।भोलिसम्म सञ्चालन हुने साधारणसभामा सात सय ५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागिता छ ।