झापाको हल्दिबारी–४ बडाबारीस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ।



विद्यालयका पूर्व विद्यार्थी सुनिल विमली र उनकी धर्मपत्नी पुनम थपलिया विमलीले आफ्ना छोराछोरी औरा विमली र यजुर्ब विमलीको जन्मदिनको अवसरमा उक्त पुरस्कार वितरण गरेका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, विशिष्ट अतिथि उपाध्यक्ष लक्ष्मी देवी मैनाली, र विशेष अतिथि वडा अध्यक्ष सन्त कुमार थापाले सहभागिता जनाए।
कार्यक्रममा भूपू विद्यार्थी समाजका अध्यक्ष पुष्पराज निरौला, पूर्व शिक्षक जनार्दन उप्रेती, र समाजसेवी पवित्रा वाई थपलियासहित अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक हरि प्रसाद काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अतिथिहरूले पुरस्कार वितरणको यो प्रयासले विद्यार्थीहरूलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरे।
पुरस्कार वितरणमा विभिन्न कक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। कक्षा १–३ मा विनिता ठाकुर, कक्षा ४–५ मा प्रतिमा पौडेल, कक्षा ६–८ मा प्रज्वल बस्नेत र शिखा मैनाली, र कक्षा ९–१० मा रिदम शिवाकोटीले पुरस्कार पाए। एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने सिसम मैनाली र सत्यम नेपाललाई पनि सम्मानित गरियो। अनुशासनका लागि कक्षा १० की निसा घिमिरेले पुरस्कार प्राप्त गरिन्।
समाजसेवी पवित्रा वाई थपलियाबाट प्रदान गरिएको विशेष पुरस्कारमा कक्षा ४ का उज्जवल शिवाकोटी र सोनिया शिवाकोटी, कक्षा ५ का प्रतिमा पौडेल र दिवाकर पराजुली ले नगद पुरस्कार पाए। विद्यालय सभाहलमा सम्पन्न यस कार्यक्रमलाई आगामी वर्षहरूमा निरन्तरता दिइने घोषणा गरिएको छ।
कार्यक्रम शिक्षक सिताराम खरेलले संचालन गरेका थिए।





