अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो।

ज्यान गुमाउने पाँच स्पेनी नागरिक हुन्। उनीहरू एकै परिवारका सदस्य रहेको सञ्चारमाध्यमले जनाएको छ। पाइलटको पनि मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।

सार्वजनिक भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेको र हडसन नदीमा खसेको देखिन्छ ।
संघीय उड्डयन प्रशासन (एफएए) ले हेलिकप्टरको दुर्घटनाको अनुसन्धान राष्ट्रिय यातायात सुरक्षा बोर्डको नेतृत्वमा हुने बताएको छ । यसअघि २०१८ मा उक्त नदीमा पर्यटक सवार हेलिकप्टर दुर्घटना हुँदा पाँच जना यात्रुको मृत्यु भएको थियो।
२००९ मा इटालियन पर्यटक बोकेको हेलिकप्टर हडसन नदीमाथि एक निजी विमानसँग ठोक्किएर नौ जनाको मृत्यु भएको थियो।




