हल्दीबारी झापामै पहिलो साक्षरता पालिका घोषणा, ९५.४९ प्रतिशत साक्षर

झापा। हल्दीबारी गाउँपालिकाले झापामै पहिलो पूर्ण साक्षरता पालिका घोषणा गरेको छ । झापाका १५ वटा पालिका मध्ये पूर्ण साक्षरता पालिका घोषणा गर्ने पहिलो पालिका हल्दीबारी भएको हो।


३ महिना सम्म गणकहरू स्थानियको घरमै गएर १५ देखि ६० वर्ष उमेर समुहका सम्मका २० हजार ३ सय ४४ जना व्यक्तीहरूको शैक्षिक विवरण लिएका थिए।जसमध्ये ९५.४९ प्रतिशत साक्षर भएको पाइएको हो।९५ प्रतिशत साक्षर भएपछि साक्षरता घोषणा गर्न सकिने व्यवस्था रहेको छ।
पालिकाको कार्यालयमा आज (शुक्रवार) पूर्ण साक्षरता पालिका घोषणासहित चारवटा कार्यक्रम भएका छन् । पालिकाले पूर्ण साक्षरता पालिका घोषणासहित गाउँ शिक्षा योजनाको सार्वजनिकिकरण, पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा र शैक्षिक सत्र २०८१ को एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने बिद्यार्थीहरुलार्ए सम्मान गरेको छ ।
२०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने पालिकाका सामुदायिक तथा संस्थागत बिद्यालयका ३२ जना बिद्यार्थीलाई नगद, प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि सांसद लिङ्देनले कार्यक्रमलाई सम्बोधन गर्दै सवै भन्दा वढी प्राथमिकता दिने क्षेत्र शिक्षा र स्वास्थ्य रहेको बताए । ‘शिक्षा र स्वास्थ्यको क्षेत्रको विकास मैले जोड दिदै आएको छु’ नेता लिङ्देनले भने ‘मैले शुरुदेखि नै जोड दिदै आएको साथै राजनीतिक यात्रामा पनि प्रमुख महत्व दिदै आएको क्षेत्र शिक्षा र स्वास्थ्य नै हो ।’
उनले जवसम्म शिक्षा र स्वास्थ्य जनताको पहुँचका रुपमा स्थापित हुँदैन, तवसम्म देशले प्रगति गर्यो भन्न नमिल्ने बताए । बाटाहरु र ठूला–ठूला भवन बनेर पनि शिक्षा र स्वास्थ्यमा प्रगति नभए त्यसको कुनै अर्थ नरहने बताए । उनले राज्यले सवैका लागि शिक्षा, स्वास्थ्य पूर्ण रुपमा निःशुल्क हुनु पर्ने उनको भनाई थियो ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वडा नम्बर २ की कार्यबहाक वडाध्यक्ष रचना कुलुङले शुभकामना मन्तव्य राखेकी थिइन् ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले पालिको स्वास्थ्यका बिषयमा जानकारी गराएको कार्यक्रममा शिक्षा शाखा प्रमुख जनककुमारी राईले पालिकाको शिक्षाका बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सञ्चालन पालिकाका योजना शाखा प्रमुख राजन न्यौपाले गरेका थिए ।
कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा जनप्रतिनिधि, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी ,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पालिकाका कर्मचारीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search