राप्रपा झापाले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त जनप्रतिनिधिको घर पुनर्निर्माणका लागि आह्वान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले जेन जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका पार्टीबाट निर्वाचित जनप्रतिनिधिको घर पुनर्निर्माणका लागि जनस्तरबाट सहयोग गर्न आह्वान गर्ने भएको छ ।

Advertisement

गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएको झापाको भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको घरको आइतबार स्थलगत अवलोकनका क्रममा राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापाले जेन जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका जनप्रतिनिधिको घर निर्माणका लागि जनस्तरबाटै सहयोगका लागि आह्वान गरिने बताए । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते उपप्रमुख कार्कीको घर आन्दोलनकारीले जलाएका थिए । आगजनीबाट घर पूर्णरूपमा जलेको छ ।

दमक नगरपालिकाका नगरप्रमुख समेत रहेका थापाले जेन जी युवाले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि गरेको आन्दोलनमा विभिन्न पार्टीका भातृ संगठनका रहेकाहरूले आन्दोलनलाई दूषित बनाउन र फाइदा लिनका लागि अराजक गतिविधि गरेको आरोप लगाए।

“समाजलाई अस्तव्यस्त बनाउन लागिपर्ने अवसरवादीहरूले आन्दोलनको नाममा अराजकता मच्चाए”, उनले भने “मौकाको फाइदा लिने आपराधिक तत्वहरूले आन्दोलनका नाममा जनप्रतिनिधिको घर जलाए ।”

आन्दोलनका क्रममा राप्रपाबाट निर्वाचित दमक नगरपालिकाका नगर प्रमुख राम थापा, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, झापा क्षेत्र नं. १ की प्रदेश सभा सदस्य सबिना बजगाईं र दमक– ७ का पार्टी आबद्ध भीम पौडेलको घरमा आगजनी तथा तोडफोड गरिएको प्रदेश अध्यक्ष थापाले बताए ।

राष्ट्रवादी चेतना भएका नागरिक र राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध तथा शुभचिन्तकहरुलाई पीडित जनप्रतिनिधिहरूको घर पुनर्निर्माणमा सहयोग गर्न उनले अपिल समेत गरे । घर पुनर्निर्माणका लागि चाँडै नागरिक समिति गठन गर्ने उनले बताए ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्नो घर जलाउने जेन जी युवा नभएको बताइन् । जेन जी आन्दोलनप्रति आफूले समर्थन जनाउँदै सामाजिक सञ्जालमा विभिन्न पोस्टहरू समेत लेखेको उल्लेख गर्नुहुँदै उनले  भनिन, “आन्दोलनका नाममा अराजक तत्वहरुले जानीजानी घर तोडफोड र आगजनी गरे ।”

“म पीडामा छु, मेरो केही रहेन, जे थियो सबै जल्यो”, आगजनीमा संलग्नहरुलाई आफूले चिनेको बतादै उनले भनिन, “म अन्यायमा परेको छु, मलाई न्याय चाहिएको छ ।”

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिंङ्देनले जेन जीको उद्देश्य अनुसार उपप्रमुख कार्कीको घर तोडफोड नभएको बताए । “घुसपेठका कारण घटना भएको छ”, उनले भने, “नवगठित सरकारले यस्ता अपराधीहरूलाई समातेर कारबाही गर्नुपर्छ ।”

आगजनीको स्थलगत अनुगमनमा मानव अधिकारकर्मी, संचारकर्मी, एकल महिला संघ साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।तोडफोड तथा आगजनीका क्रममा घरमा भएका नगद तथा सुन–चाँदीहरू समेत लुटेर लगिएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search