• सम्राट अधिकारी | बाह्रदशी, झापा
झापा । झापाको बाह्रदशी–५ स्थित कटरडागी आ.वि.को खेलमैदानमा आजदेखि तेश्रो टोल स्तरीय भेटेरन कप २०८२को औपचारिक शुरुवात भएको छ । बर्षौनी चाडपर्वको अवसर पारेर आयोजना हुँदै आएको यस प्रतियोगिता यसपटक तेस्रो संस्करणमा प्रवेश गरेको हो । सुरुदेखि नै स्थानीय खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेकाले खेलमैदानमा उत्साह र जोशजामको वातावरण सिर्जना भएको थियो ।
उद्घाटन खेलमा नवकिरण क्लब भेटेरन र बुधबारे स्पोर्टिङ क्लब भेटेरन आमनेसामने भिडेका थिए । खेलको सुरुवाती चरणमै बुधबारेले दबाब सिर्जना गर्दै १८औं मिनेटमा अग्रता लिन सफल भयो । बुधबारेका जर्सी नं. १७ बुद्द देवानले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई सुरुवाती खुशी दिलाएका थिए । तर, नवकिरणले हार नमान्दै आक्रामक खेल प्रस्तुत गर्यो र २५औं मिनेटमा जर्सी नं. १२ अम्बर अधिकारीले उत्कृष्ट प्रहारमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
बराबरीपछि खेल झनै रोमाञ्चक बन्दै गयो । दुवै टोलीले आक्रमण र प्रत्याक्रमणको खेल देखाए तर पहिलो हाफमा थप गोल हुन सकेन । खेल दोश्रो हाफमा प्रवेश गरेसँगै नवकिरणले खेलमा पूर्ण नियन्त्रण जमायो । ४०औं मिनेटमा जर्सी नं. १९ तोरण राईले आकर्षक गोल गर्दै नवकिरणलाई अग्रता दिलाए । त्यसपछि नवकिरणले लगातार आक्रमणलाई तेज पार्दै ४४औं र ५२औं मिनेटमा जर्सी नं. १४ मानबहादुर पाख्रीनले दुई सुन्दर गोल प्रहार गरे ।
लगातार तीन गोलले नवकिरण क्लबले खेलमा ४–१ को फराकिलो जित हात पार्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । दर्शकदीर्घामा उपस्थित खेलप्रेमीहरूले नवकिरणको उत्कृष्ट खेललाई निरन्तर ताली र जयकारासहित उत्साहपूर्वक स्वागत गरेका थिए ।
उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेका नवकिरण क्लबका जर्सी नं. १९ तोरण राईलाई म्यान अफ द म्याच घोषित गरियो । आयोजक कटरडागी स्पोर्टिङ क्लबका अनुसार प्रतियोगिताको अर्को खेल भोलि दिउँसो ३:३० बजे कटरडागी ‘B’ र खटखटी भेटेरनबीच हुनेछ । आयोजकले खेलप्रेमीहरूलाई सोही स्थानमा उपस्थित भई खेललाई अझ रोचक बनाउन आग्रह समेत गरेको छ ।