झापा।हल्दीबारी गाउँपालिका वडा नम्बर १ बाट धनुषा आधारभूत विद्यालयसम्म जोड्ने नवनिर्मित कालोपत्रे सडक आज नामाकरण गरिएको छ ।पूर्वउप्रधान ,जलस्रोत तथा उर्जामन्त्री राजेन्द्र लिङदेनबाट उक्त सडकको नाम भुल्कामार्ग राखिएको छ ।
कुल २ करोड ६५ लाख ४३ हजार रुपैयाँ लागतमा निर्माण भएको उक्त सडकको लम्बाइ २३६५ मिटर रहेको छ भने चौडाइ ५.५ मिटर रहेको छ। यस आयोजनामध्ये १ करोड १० लाख रुपैयाँ केन्द्र सरकारबाट प्राप्त समपुरक बजेट रहेको छ भने बाँकी १ करोड ५५ लाख रुपैयाँ हल्दीबारी गाउँपालिकाको लगानी रहेको छ।
स्थानीयवासीको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै निर्माण सम्पन्न भएको यस सडकले आवतजावतलाई सहज, छिटो र सुरक्षित बनाउने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले पालिकाबाट गोलधाप जोडने यो मुख्य बाटो भएकाले यसको प्रभावकारिता अझै बढ्ने बताए।पालिकाको सिमित बजेट हुदाँ पनि जनप्रतिनिधि र कर्मचारी इमान्दार भए विकास सम्भव हुने बताए।
गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्षहरू, सम्पूर्ण जनप्रतिनिधिहरू, राजनितिक दलका प्रतिनिधिहरू,कर्मचारीहरू र स्थानियहरूको बाक्लो उपस्थिति रहेको थियो।

पालिका अध्यक्ष रविन्द्र लिङदेनले पालिकाले खर्च व्यवस्थापन मितव्ययी तरिकाले गरेकाले विकासले गति लिएको र यसले निरन्तरता पाउने धारणा राखेका थिए।
वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापाले वडावासीको माग सम्बोधन गर्न गरिएको प्रयास सफल भएको धारणा राखेका थिए।
राजनितिक दलका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र ओलीले आफ्नो भनाई राखेका थिए।आयोजनाको लागत बारे प्रमुख प्रशासकीय अधिकृतले जानकारी गराएको कार्यक्रम योजना शाखा प्रमुख राजन न्यौपानेले सहजीकरण गरेका थिए।


सडकको दुवै किनारामा पहेँलो रङ्गको लाइनिङ गरिएको छ, जसले सडकलाई व्यवस्थित र सुरक्षित बनाएको छ। साथै, रातको समयमा पनि आवतजावत सहज होस् भन्ने उद्देश्यले सडकमा मार्ग प्रकाश बत्ती (स्ट्रिट लाइट) जडान गरिएको छ, जसले रात्रीकालीन यात्रालाई थप सुरक्षित बनाएको छ भने ठाउँठाउँमा जेब्रा क्रसिङ पनि बनाइएको छ ।

यो सडक निर्माण भएपछि गोल्धापबाट हल्दीबारी गाउँपालिकासम्म पुग्न अब छिटो र सरल भएको छ। मुख्य सडकसँग जोडिने यो मार्ग भएकाले आगामी दिनमा यहाँ मानव आवागमन तथा सवारी साधनको चाप अझै बढ्ने निश्चित देखिन्छ।

सीमित स्रोत र साधनका बाबजुद पनि हल्दीबारी गाउँपालिकाले भौतिक पूर्वाधार विकासलाई निरन्तरता दिँदै आएको छ। गाउँपालिकाभित्रका मुख्य सडकहरू क्रमशः कालोपत्रे हुँदै गइरहेका छन्, जसले समग्र विकास, आर्थिक गतिविधि तथा नागरिकको दैनिकीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।







