सन्थाल समुदायको मुख्य चाड ‘दिसोम सोहराई’को टुङ्गो लागेको छ ।
नेपालको पूर्वी तराइको झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लामा बसोबास गर्ने सन्थाल समुदायको मुख्य चाड दिसोम सोहराई पहिलेबाटै मनाउने गरिए पनि खास कहिँले मनाउने भनेर अन्यौल थियो जसका कारण फरक – फरक समयमा मनाउने गरिएको छ । यहिँ द्विविधा हटाउन र यकिन मितिको खोजीमा झापाका माझीहडाम (मुखिया)हरु र सन्थाल समुदायका अगुवाहरुलाइ लिएर तीनदिन अघि भद्रपुर ३ नम्बर वडा वडाध्यक्ष हेमबहादुर कार्की (सन्तु)को नेतृत्व एवंम अगुवाइमा १६ सदस्य टोली भारतको झारखण्ड राज्यस्थित दुम्का गएको थियो ।
भारतको झारखण्ड राज्यस्थित दुम्का पुगेर नेपाल आएपछि चाडको मिति टुङ्गो लागेको हो । अब देखी जनवरी ४ तारिखमा सुरु भएर मुख्य गरी ९ देखि १३ तारिखसम्म मुख्य पर्वका रुपमा मनाउने टुङ्गो लागेको पत्रकार सम्मेलन मार्फत कार्कीले जानकारी गराएका छन् ।
वडाध्यक्ष कार्कीको नेतृत्वमा दुम्का पुगेर सन्थालको , मठ मन्दिर, धार्मिक स्थल भ्रमण तथा विज्ञहरू भेटघाट गरि इतिहास खोजीगरी विहीबार टोली भद्रपुर आएको थियो । टोलीलाइ राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रपुर नगर अध्यक्ष राजकुमार राई, पूर्वप्रहरी सङ्गठन झापाका अध्यक्ष अम्बीका पोखरेल, वडा नं ३ कि वडा सदस्य रिना थापा मगर, उद्योगी,व्यवसायी लगायतले स्वागत गरेका थिए ।


सन्थाल समुदायका अगुवालाइ सो स्थानमा पुर्याएर इतिहास पत्ता लगाउन पाएकोमा खुसी भएको कार्कीले जनाए । झापाका पालिकाहरूले पनि ‘दिसोम सोहराई’ चाड मनाउन फरक फरक मिति पारेर स्थानीय बिदा दिइरहेकोले खास कुन तिथि हो भन्ने यकिन गर्न र उनीहरुको रहनसहन थप अवस्था बुझ्न आवश्यक परेर दुम्का पुगेको उनले बताए ।
त्यहाँका अगुवाहरूसँग भेटघाट तथा छलफल गरी यो चाड किन र कुन दिन मनाउनु पर्ने बारेमा खोजी भइसकेकोले स्थानीय पालिकाहरूलाई ज्ञापनपत्र समेत बुझाएर तोकिएकै मितिमा चाड मनाइने उनले बताए । भद्रपुर– ३ स्थित हात्तीमारा भन्ने स्थानमा यसबर्ष जनवरी ४ मा ‘दिसोम सोहराई’ पर्व भव्य रुपमा मनाउने पनि तयारी गरिएको उनको भनाई छ ।


झारखण्डको दुम्कामा सन्थाल समुदायको भाषा, संस्कृति, चाडपर्व र इतिहास कस्तो रहेको छ भन्ने जिज्ञासामा अवलोकनका लागि सन्थाल समुदायका अगुवाहरूलाई लिएर भ्रमणमा निस्किएको वडाध्यक्ष कार्कीले बताए ।भारतको झारखण्ड आदिवासी सन्थाल समुदायको उद्यम स्थल मानिन्छ ।
‘सोहराई’ सन्थाल भाषामा गाई–भैँसी, गोरुजस्ता पशुधनको पूजा तथा सम्मान गर्ने चाड हो । ‘दिसोम’ भन्नाले सन्थाल समुदायको देश÷भूमि÷सम्पूर्ण समाज भन्ने अर्थ दिन्छ । त्यसैले ‘दिसोम सोहराई’ भनेको सम्पूर्ण सन्थाल समाजले सामूहिक रूपमा मनाउने पर्व भएको लाल हस्दाले बताए । प्रायः यो चाड धानबाली भित्राएपछि मनाइने उनले जनाए । सन्थाल परगना (झारखण्ड) शैली अनुसार सोहराई चाड जनवरी ४ बाट नै अबदेखि सामूहिक रूपमा मनाउने अभियान सुरु गरिने उनले जनाए ।
विशेष गरी पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा सन्थाल समुदायको बसोबास रहेको छ भने झापामा मात्र २५ हजारको हाराहारीमा यो समुदाय पाइन्छ ।








