कचनकवल। झापाको कचनकवल गाउँपालिकाले भेडा-बाख्रामा लाग्ने घातक रोग पि.पि.आर. नियन्त्रणका लागि सातै वटा वडामा खोप अभियान सञ्चालन गर्ने भएको छ। कोशी प्रदेश सरकार र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, भद्रपुरको समन्वयमा यो अभियान सुरु हुन लागेको हो।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार, यो खोप कार्यक्रम मिति २०८२/०९/२० गतेदेखि सुरु भई २०८२/१०/०४ गतेसम्म सञ्चालन हुनेछ। अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले प्रत्येक वडामा पशु स्वास्थ्य प्राविधिक (खोप कर्ता) हरूको टोली खटाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलद्वारा हस्ताक्षरित उक्त सूचनामा सम्पूर्ण जनप्रतिनिधि, टोल विकास संस्था, कृषक र सरोकारवालाहरूलाई यो अभियानमा आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध गरिएको छ।
आफ्ना भेडा-बाख्राहरूलाई पी.पि.आर. जस्तो संक्रामक रोगबाट बचाउन समयमै खोप लगाउन गाउँपालिकाले सबै कृषकहरूमा आह्वान गरेको छ।