भद्रपुरमा दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुदैँ

झापा। झापाको भद्रपुरमा दोस्रो झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ।

आयोजक झापा उद्योग वाणिज्य संघ जिल्ला समिति झापाले सोमबार भद्रपुरमा पत्रकार सम्मेलन गरी आगामी माघ ७ गतेदेखि २१ गतेसम्म भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशालामा महोत्सव आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएको हो।

“समृद्धिको आधार, आर्थिक विकास : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा घरेलु, कृषि, पर्यटन तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवाको प्रवर्द्धनका लागि एक सयभन्दा बढी स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आयोजक संस्थाका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा, पछिल्ला केही वर्षयता झापा जिल्लाका उद्योग–व्यवसाय क्षेत्रमा देखिएको आर्थिक मन्दी तथा उद्योगी–व्यवसायीमा व्याप्त निराशालाई चिर्दै जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ रहेको छ।

महोत्सवले उद्योग–व्यवसाय प्रवर्द्धनसँगै झापाको कृषि, पर्यटन तथा यस क्षेत्रका आदिवासी जनजाति एवं अल्पसंख्यक समुदायको संस्कृति र कला प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। महोत्सवमा हजारौँ दर्शकले अवलोकन गर्ने र करोडौँको कारोबार हुने अपेक्षा गरिएको छ।

सन् २०१९ को कोभिड–१९ महामारी तथा हालको आर्थिक मन्दीपछि पुनः आर्थिक गतिविधि चलायमान बनाउँदै आर्थिक वृद्धिको खोजीमा रहेका उद्योगी–व्यवसायीका लागि यो महोत्सव महत्वपूर्ण प्लेटफर्म बन्ने आयोजकको भनाइ छ।

महोत्सव सफलतापूर्वक सम्पन्न गर्न नौ वटा उपसमिति गठन भई सक्रिय रूपमा काम गरिरहेको जानकारी पनि दिइयो। महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका सांगीतिक तथा हास्यव्यंग्य कार्यक्रम, स्थानीय गीत–नृत्य, सांस्कृतिक कार्यक्रम, बाल उद्यान, विभिन्न जातजातिको सांस्कृतिक तथा परम्परागत प्रदर्शनी र झाँकी प्रदर्शन प्रमुख आकर्षण रहने बताइएको छ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले महोत्सवप्रति नगरपालिकाको पूर्ण अपनत्व रहने बताएकी छन्।

पत्रकार सम्मेलनमा उठेका जिज्ञासाहरूमा आर्थिक संकलन तथा व्यवस्थापन समिति संयोजक आदित्य पराजुली, उद्योगीहरू दिपेश ढकाल, नितेश बर्मा तथा भद्रपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मनोज सुब्बा संघका महासचिव सुमन्त मैनालीले जवाफ दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search