झापा। हल्दीबारी गाउँपालिकाको आयोजनामा पौष १६ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको स्काउट आधारभूत तालिम (६२० औं बि.टि.सी. र ४५९ औं पि.टि.सी.) सफलतापूर्वक सम्पन्न भएको छ।
तालिमको अन्तिम दिन सोमवार हल्दीबारी गाउँपालिका वडा–४ का वडा अध्यक्ष एवं तालिम संयोजक सन्तकुमार थापाको अध्यक्षतामा समापन समारोह आयोजना गरिएको थियो। समारोहका प्रमुख अतिथि स्थानीय स्काउट संरक्षक तथा हल्दीवारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन रहेका थिए। त्यसैगरी विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, वडा जनप्रतिनिधिहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, शिक्षा अधिकृत जनक कुमारी राई, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, स्काउट लिडरहरू, समाजसेवी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हल्दीवारी–३ स्थित श्री चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयमा सम्पन्न उक्त तालिममा ४१ जना शिक्षकहरूको सहभागिता रहेको थियो। तालिममा महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक शिवानी देवान तथा पुरुषतर्फ सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ कोर्ष लिडरको भूमिकामा रहेका थिए।
तालिमले शिक्षकहरूमा स्काउटिङसम्बन्धी नेतृत्व क्षमता, अनुशासन, सेवा भाव तथा व्यावहारिक सीप अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ रहेको छ। आयोजकले आगामी दिनमा पनि यस्ता क्षमता विकासमूलक तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।