झापा औधोगिक ,पर्यटन तथा कृषि महोत्सवको तयारी अन्तिम चरणमा

झापा। उद्योग वाणिज्य संघ झापाले माघ ७ गतेदेखि आयोजना गर्न लागेको झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव को तयारी अन्तिम चरणमा पुगेको छ।भद्रपुरको व्यापारलाई चलायमान बनाउने उद्देश्यका साथ
माघ ७ देखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशालामा सञ्चालन हुने महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको मूल आयोजकले जनाएको छ।

महोत्सवमा १२० वटा व्यापारिक स्टल तथा १० वटा खानाका परिकार स्टल रहने छन्। साथै, हरेक दिन खेलकुदका गतिविधि सञ्चालन गरिनेछ। हरेक साँझ ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्र झल्किने प्रदर्शनी तथा बिक्री–वितरण केन्द्रसमेत रहने मूल आयोजक समितिका अध्यक्ष राजकुमार राईले जानकारी दिए।

महोत्सव सञ्चालनका लागि झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको संयोजकत्वमा मूल आयोजक समिति तथा अतिथि सत्कार समिति गठन गरिएको छ भने महोत्सवको संरक्षक भद्रपुर नगरपालिका रहेको छ।

झापा जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी र पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। दीर्घकालीन विकास र आन्तरिक बजार सवलीकरण गर्दै व्यवसायिक उत्थान तथा निकासीयोग्य वस्तुमा जोड दिने लक्ष्य रहेको उनले बताए।
मूल आयोजक झापा उद्योग वाणिज्य संघले महोत्सवबाट करिब १० करोड रुपैयाँ बराबरको कारोबार तथा एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने लक्ष्य लिएको जनाएको छ।

‘समृद्धिको आधार, आर्थिक विकासः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा लक्ष्य पूरा गर्न घरेलु, कृषि, पर्यटन तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवाको प्रवर्द्धनका लागि १२० विभिन्न स्टल रहने जनाइएको छ।

पत्रकार सम्मेलनमा आयोजक संस्थाका कार्यवाहक अध्यक्ष राईको अध्यक्षतामा कोशी प्रदेश सभा सदस्य छविलाल चुडाल, भद्रपुर नगर उपप्रमुख राधा कार्की, वडा नम्बर ८ का अध्यक्ष गौरव सुब्बा मनोजलगायतले मन्तव्य राखेका थिए। उनीहरूले औद्योगिक महोत्सवले वर्तमान विषम परिस्थितिमा उद्योगी तथा व्यवसायीलाई आफ्ना उत्पादन, सेवा र व्यापारिक गतिविधि प्रस्तुत गर्ने प्रभावकारी मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरे।

पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण महासङ्घका महासचिव सुमन्त मैनालीले गरेको थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search