झापा औधोगिक व्यापार,कृषि महोत्सव प्रहरी प्रशासनको हठधर्मी रवैयाबाट प्रभावित: व

झापा । झापा उद्योग वाणिज्य संघले भद्रपुरमा करिब एक दशकपछि आयोजना गरेको ‘झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव’ प्रहरी प्रशासनको हठधर्मी र असंवेदनशील रवैयाका कारण गम्भीर रूपमा प्रभावित भएको छ। संघका कार्यवाहक अध्यक्ष राजकुमार राई र महासचिव सुमन्त मैनालीले यसप्रति घोर आपत्ति प्रकट गर्दै महोत्सव संचालनमा आएको अवरोध र आर्थिक नोक्सानीबारे स्पष्ट पारेका छन्।

Advertisement

संघका अनुसार, भद्रपुर मेची रंगशालामा माघ ७ देखि २२ गतेसम्म आयोजना भइरहेको महोत्सवमा १२० भन्दा बढी औद्योगिक, व्यावसायिक, कृषि, धार्मिक र पर्यटकीय क्षेत्रका प्रवर्द्धनात्मक स्टलहरु रहेका थिए। स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति र स्टल अवलोकनकर्ताको भीडले महोत्सवलाई गति दिँदै गर्दा जिल्ला प्रशासन कार्यालय झापाले अचानक कार्यक्रम सम्पन्न गर्न निर्देशन दिँदा आयोजक चुनौतीमा परेका हुन्।

संघका महासचिव सुमन्त मैनाली का अनुसार, “प्रहरी प्रशासनको रवैयाले महोत्सवको सुरक्षामा प्रश्न उठाएको छ। साउण्ड सिस्टमको प्लग तान्ने, अवलोकनकर्तालाई झार्ने र आयोजकलाई विभिन्न प्रताडना दिने जस्ता गतिविधिहरूले महोत्सव संचालन असम्भव बनाएको छ। यसबाट आर्थिक नोक्सानी र महोत्सवको उद्देश्य पूरा हुन नसकेकोमा गम्भीर दुख व्यक्त गर्दछौं।”

कार्यवाहक अध्यक्ष राजकुमार राई ले भने, “सुरक्षा सुनिश्चित गर्ने जिम्मा प्रहरी प्रशासनको हो तर यसको विपरित गतिविधिले महोत्सवलाई नै जोखिममा पारिरहेको छ। सम्झौता भइसकेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति निर्धारित समयभित्र सम्पन्न गराउन असम्भव बनेको छ।”

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल ले प्रहरी प्रशासनको रवैयाप्रति दुःख व्यक्त गर्दै स्पष्ट गरे कि यस्तो व्यवहारले व्यवसायिक र सांस्कृतिक गतिविधि प्रभावित भइरहेको छ।

त्यस्तै, कोशी प्रदेश उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टिकाराज ढकाल ले प्रहरी प्रशासनले व्यवसायीलाई सहज पहुँचबाट वञ्चित गर्न खोजेको भन्दै कडा शब्दमा आपत्ति जनाएका छन्। भद्रपुर –८ का वडाध्यक्ष गौरव सुब्बा ले चेतावनी दिएका छन् कि प्रहरी प्रशासनको यस प्रकारको अनुचित रवैया जारी रह्यो भने स्थानीय स्तरमा चुप लागेर नबस्ने र यसको मूल्य महँगो पर्नेछ।

झापा उद्योग वाणिज्य संघले सम्पूर्ण उद्योगी-व्यवसायी, राजनीतिक दल र नागरिक समाजलाई आग्रह गर्दै आगामी दिनमा यस्ता अवरोध रोक्न, उद्योग–व्यवसाय प्रवर्द्धनका कार्यक्रमलाई सहज वातावरणमा सञ्चालन गर्नुपर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search