झापा।कोशी पाथीभरा इण्डो नेपाल टि–२० च्याम्पियनसीपको तयारी पूरा भएको छ ।
भद्रपुर क्रिकेट क्लबको आयोजनामा माघ २१ गतेदेखि २९ गतेसम्म झापाको भद्रपुर नगरपालिका–८ स्थित मेची क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
लिग ढाँचामा सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका आठ वटा टिमको सहभागिता रहने प्रतियोगिता संयोजक गौरब सुब्बा (मनोज)ले जानकारी दिनुभयो । “नेपाल–भारत बीचको खेलकुद मैत्री आपसी सम्बन्ध सांस्कृतिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ”, उहाँले भन्नुभयो, “प्रतियोगिताको मुख्य उद्देश्य भद्रपुर र झापालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट संसारमा स्थापित गर्नुका साथै स्थानीय खेलाडीहरुलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा अनुभव आदान–प्रदान गर्नु हो ।”
मैदान व्यवस्थापन, पिचको स्तरीकरण, खेल तालिका, सुरक्षा व्यवस्था, अम्पायरिङ्ग, स्वास्थ्य सेवा खेलाडीहरुको आवास तथा यातायात व्यवस्थापन लगायत खेलका लागि आवश्यक अन्य सबै तयारी परा भइसकेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा, ग्रेट हिमालयन क्रिकेट एकाडमी काठमाडांै र फ्रेण्ड्स युथ क्लब डडेल्धुराको सहभागिता रहनेछ भने भारतका तर्फबाट राइनो ल्याण्ड क्रिकेट एकाडमी आसाम (गोहाटी), ग्लोबल स्टार क्रिकट क्बल लखनउ, क्रिकेट कोचिङ्ग उपाध्याय एकाडमी न्यू दिल्ली र स्नो लायन टिम अफ सिक्किम सहभागी रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले प्रतियोगितामा नगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले क्लब स्तरबाट नेपालमै एउटा मात्र क्रिकेट मैदान भएको बताउनुहुँदै क्रिकेट मैदानको स्तरोन्नितका लागि वडा, नगरपालिकादेखि विभिन्न खेलप्रेमिहरुको लगानी रहेको बताउनुभयो । प्रतियोगिताले खेलकुद पर्यटनलाई समेत टेवा मिल्ने बताउनुभयो ।
प्रतियोगिताका लागि रू एक करोड २० लाख खर्च हुने आयोजक भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो । प्रतियोगितामा विजेताले नगद रू पाँच लाख, उप–विजेताले नगद रू तीन लाख पाउनेछ ।
प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद रू ११ हजार ट्रफी, उत्कृष्ट बलर र ब्याट्स म्यानले नगद रू २५÷२५ हजार र ट्रफी, उदीयमान खेलाडीले नगद रू ११ हजार तथा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी मेन अफ दि सिरिजलाई नगद रू ५१ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका तथा स्थानीय दाताहरुको सहयोगमा करिब रू ६० लाखको लागतमा पिच निर्माण गरी स्तरीकरण गर्ने कार्य सम्पन्न भएको छ । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार गोपाल गिरीले गर्नुभएको थियो ।
प्रतियोगिता सञ्चालनका लगि ओमसाइ तथा सौर्य एयरका तर्फबाट अध्यक्ष दिपक पोखरेल, सूर्य प्लाई उद्योगका तर्फबाट देवानन्द सरावगी तथा प्रदिप सरावगी, गोखा चियाका उदय चापागाईं, एक्स्ट्रिम इनर्जि ड्रिंक्स, सिद्धाथ बैंक एन.आई. एम.वि. बैंक, माछापुच्छ्रे बैंक, त्रिशक्ति ग्याँस, प्रशन्न खड्का, प्रकाश घिमिरे, निर्माण व्यवसायी संघ झापा, एक्सल विकास बैंक, बाणिज्य बैंक, गरिमा विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, प्रभु बैंक, अस्टेलिया झापा समाज, पुरुषोत्तम कट्टेल, कुमार राजभण्डारी दिपेश ढकाल, दिनबन्धु गोयल, भरत कोइराला, शर्मिला न्यौपाने, कुलप्रसाद दाहाल, वि वाइ डी कम्पनी लगायतबाट प्रायोजन भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।