राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले युवाहरूलाई पनि उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा उतारेको छ।
राप्रपाबाट ४० वर्ष मुनिका ३२ जना उम्मेदवार छन्, हिजोआज उनीहरू चुनावी घरदैलोमा व्यस्त छन्।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीले १६५ मध्ये १६३ क्षेत्रमा उम्मेदवारी दिएको छ र अधिकांश उम्मेदवार ५० वर्षमुनिका छन्।
‘४० वर्षमुनिका ३२ जना उम्मेदवारहरू हुनुहुन्छ, १६५ मध्ये १६३ क्षेत्रमा हाम्रो उम्मेदवार हुनुहुन्छ, कसैसँग तालमेल गरेको छैन, उम्मेदवारमध्ये ७० प्रतिशत त ५० वर्षमुनिकै हुनुहुन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘उम्मेदवारहरू जनताका बीचमा हुनुहुन्छ।’
विगतका निर्वाचनहरूमा राप्रपाले कहिले एमाले त कहिले नेपाली कांग्रेससँग गठबन्धन गरेको थियो। तर यसपालि कुनै क्षेत्रमा पनि कसैसँग चुनावी तालमेल नगरिएको प्रवक्ता श्रेष्ठले बताए।
‘रूपन्देही २ र मनाङमा हाम्रा उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभयो, बाँकी क्षेत्रमा पार्टीका उम्मेदवार कायम छन् र चुनावी प्रचारमा व्यस्त छन्,’ उनले भने, ‘यसपालि राप्रपाले कसैसँग गठबन्धन गर्दैन, एक्लै चुनाव लड्छ, जित्छ।’
रूपन्देही २ मा उम्मेदवारी दिएकी कार्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी थिइन्। माघ ६ गते उम्मेदवारी दिएकी उनले माघ ९ गते उम्मेदवारी फिर्ता लिएकी थिइन्। अमेरिकाको ग्रीन कार्ड रहेको भन्दै उनको उम्मेदवारी फिर्ता भएको थियो।
Laxmi bank
राप्रपाबाट मनाङमा उम्मेदवारी दिएका कुविरसिंह गुरूङले पनि माघ ९ गते नै उम्मेदवारी फिर्ता लिएका थिए। नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङसँग चिठ्ठामा हारेपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन्।
अन्यत्र भने राप्रपाका उम्मेदवार कायम रहेको प्रवक्ता श्रेष्ठ बताउँछन्।
Ncell
राप्रपाले यसपालि समानुपातिकतर्फ र प्रत्यक्षतर्फ नयाँलाई अवसर दिन खोजेको देखिन्छ। राप्रपाले समानुपातिकतर्फ पनि २०६४ देखि पटक पटक अवसर लिएकाहरूलाई उम्मेदवार बनाएको छैन।
युवाहरूलाई चुनावी मैदानमा उतारेर उच्च मनोबलका साथ राप्रपा अघि बढेको प्रवक्ता श्रेष्ठले बताए।
‘हाम्रा उम्मेदवारहरू उच्च मनोबलका साथ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ,’ उनले भने, ‘यसपटक खाता खोल्ने मात्र होइन, अधिकांश क्षेत्रमा चुनाव जितेर आउँछौं।’
पार्टीले उठान गर्दै आएको राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी एजेन्डा लोकप्रिय बन्दै गइरहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले उक्त एजेन्डामा देखा परेको शक्तिलाई मतमा रूपान्तरण गरिने बताएका छन्।
‘यसपालि हामी काठमाडौं उपत्यकाभित्रका ३ जिल्लाका १५ निर्वाचन क्षेत्रमा समानुपातिक र प्रत्यक्ष दुवैतर्फ पहिलो शक्ति हुनेछौं, राजसंस्था, हिन्दु राष्ट्रलगायत हाम्रो एजेन्डा लोकप्रिय बन्दै गइरहेको छ, त्यसलाई मतमा रूपान्तरण गर्नेछौं,’ उनले भने।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी राप्रपाको १४ सिट थियो। यसलाई बढाउने पक्षमा राप्रपा छ।
‘अबको संसदमा निर्णायक शक्तिको रूपमा राप्रपा रहन्छ, दुई अतिवादी सोच भएकाहरूका बीच समन्वयकारी शक्तिका रूपमा राप्रपा आउँछ र भूमिका खेल्छ,’ उनले भने।
राप्रपाले ४० वर्षमुनिका युवाहरूलाई उम्मेदवार बनाउँदा कतिपय विगतमा उम्मेदवार भएकाहरू पनि दोहोरिएका छन् भने कतिपय नयाँ छन्।
जुम्लाबाट अहिले उम्मेदवार रहेका प्रवक्ता ज्ञानेन्द्र शाही २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि राप्रपाबाट उम्मेदवार रहेर चुनाव जितेका थिए। उनी ३४ वर्षका भए।
यसअघि समानुपातिक सांसद रहेकी सल्यानकी अनिशा नेपाली पनि यसपालि प्रत्यक्षतर्फ उम्मेदवार छिन्। उनी ३२ वर्षकी भइन्।
जेनजी आन्दोलनका क्रममा अग्रपङ्तिमै रहेका रविकिरण हमाललाई पनि राप्रपाले उम्मेदवार बनाएको छ। २८ वर्षीय हमाल सुर्खेत १ बाट उम्मेदवार छन्।
राप्रपाले भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार पनि उम्मेदवार छन्। ३१ वर्षीय रजवार कैलाली ४ मा उम्मेदवार छन्।
राप्रपामा ४० वर्षमुनिका कहाँ, को उम्मेदवार?
१. मोरङ ६- सबिन निरौला, २७ वर्ष
२. सप्तरी २- अजयकुमार दास, २७ वर्ष
३. सुर्खेत १- रवि हमाल ठकुरी (रविकिरण हमाल), २८ वर्ष
४. धनकुटा १- बिभत्सु थापा, ३० वर्ष
५. रूकुम पूर्व- रोशन शाह, ३० वर्ष
६. नवलपरासी (पश्चिम) १- नवनित कुमार मिश्र, ३० वर्ष
७. बागलुङ १- कल्याण विक्रम आचार्य, ३० वर्ष
८. कैलाली ४- कमल बम रजवार, ३१ वर्ष
९. प्यूठान १- धनेश्वर पण्डित, ३२ वर्ष
१०. दाङ १- विनय विसी, ३२ वर्ष
११. सल्यान १- अनिशा नेपाली, ३२ वर्ष
१२. कैलाली ५- रोशन शाही, ३२ वर्ष
१३. बागलुङ २- अञ्चल शाही, ३३ वर्ष
१४. जुम्ला- ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही), ३४ वर्ष
१५. इलाम १- ज्वाला नेपाल दाहाल, ३५ वर्ष
१६. पर्सा २- वीना जैसवाल, ३५ वर्ष
१७. ललितपुर १- सजिना कार्की, ३५ वर्ष
१८. सिन्धुपाल्चोक २- गोपिकृष्ण चौलागाईं, ३५ वर्ष
१९. तनहुँ १- रामदत्त जोशी (अभिषेक जोशी), ३५ वर्ष
२०. गुल्मी २- जनक सेन ३५ वर्ष
२१. काठमाडौं ६- उद्धबराज भेटवाल, ३६ वर्ष
२२. कास्की ३- अर्जुनप्रसाद खनाल, ३६ वर्ष
२३. बर्दिया २- सुशील चौधरी, ३६ वर्ष
२४. कैलाली १- लोकेन्द्र कुँवर, ३६ वर्ष
२५. सोलुखुम्बु- राजेन्द्र बस्नेत, ३७ वर्ष
२६. भक्तपुर २- अधिवक्ता विक्रम थापा, ३७ वर्ष
२७. सिराहा ४- शुभेन्द्रकुमार साह, ३८ वर्ष
२८. काठमाडौं २- कुन्तीदेवी पोखरेल, ३८ वर्ष
२९. अछाम १- लोकेन्द्रबहादुर शाह, ३९ वर्ष
३०. काठमाडौं ९- दिलीपकुमार कार्की, ४० वर्ष
३१. गोरखा १- केदारमणि खनाल, ४० वर्ष
३२. म्याग्दी- डम्बरबहादुर सुवेदी, ४० वर्ष।
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026
श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
February 8, 2026
हल्दीबारीबाट सुरु भयो चलचित्र ‘तिलस्मी’को यात्रा, जेठ २०८२ मा हलमा
February 2, 2026
चिल्ड्रेन गार्डेन पूर्व विद्यार्थी समाजको नेतृत्वमा अभिषेक खतिवडा
January 30, 2026