हल्दिबारी गाउँपालिका वडा नं–३ मा अवस्थित लक्ष्मी माध्यमिक विद्यालयमा आज एक विशेष समारोहबीच ५८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न शैक्षिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक बिकास मन्त्री राम प्रसाद महतो को प्रमुख आतिथ्यतामा सम्पन्न समारोहको उद्घाटन पानसमा दीप प्रज्वलन तथा जगादाता कुपितनारायण किस्कुको सालिकमा माल्यार्पण गरी गरिएको थियो।
समारोहमा कोशी प्रदेश का सांसद छवि चुडाल, हल्दिबारी गाउँपालिका का अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मी देवी मैनाली, सामाजिक विकास मन्त्रालयका उपसचिव यादवप्रसाद दुलाल, शिक्षा तालिम केन्द्र सुनसरीका उपसचिव रेवतबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन(महेन्द्र), वडा नं–३ का वडाध्यक्ष विष्णुप्रसाद ओली, शिक्षा शाखा प्रमुख जनककुमारी राई, शिक्षाप्रेमी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघका पदाधिकारी, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटनपश्चात् विद्यालयका स्काउट टोलीले मञ्चमा रहेका अतिथिहरूलाई सलामी अर्पणसहित मार्चपास गरेर स्वागत गरेका थिए। विद्यार्थीहरूले उत्कृष्ट म्युजिकल पी.टी. तथा विभिन्न समुदायका लोकनृत्य समेत प्रस्तुत गरेका थिए भने विद्यार्थी सुशीला हस्ताले गायन प्रस्तुत गरेकी थिइन्।
समारोहमा विभिन्न विधामा उत्कृष्ट शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा अक्षयकोषदाता र अभिभावकलाई सम्मान गरिएको थियो। उत्कृष्ट शिक्षकका रूपमा किशोर ओली र मुना गौतम सम्मानित भएका छन् भने पूर्व विद्यार्थी तथा सञ्चारकर्मी देविका अधिकारी पनि सम्मानित भएकी छन्। राष्ट्रपति रनिङशील प्रतियोगिताबाट छनोट खेलाडीहरू, काँटा, हाइजम्प, ट्रिपल जम्प र भलिबलतर्फ उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
विद्यालयले वडा नं–३ कार्यालयलाई ४० थान खेलकुद पोशाक (जर्सी) उपलब्ध गराएकोमा कार्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतोले विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयको विकासका लागि प्रदेश सरकारको लगानी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। अन्य वक्ता प्रदेश प्रदेश सांसद चुडाल , गाउँपालिका अध्यक्ष लिङ्देन , प्रमुख प्रशासकीय अधिकृत वनहरूले विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तथा वार्षिक प्रतिवेदन प्रधानाध्यापक राम प्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन एवम् सहजीकरण शिक्षक बोधकृष्ण पौडेलले गर्नुभएको थियो।