पाथीभरा कालीका सामुदायिक वनद्वारा सडक सुरक्षाका लागि हल्दीबारी–४ मा गति नियन्त्रण बोर्ड स्थापना

झापा। हल्दीबारी गाउँपालिका–४ का मुख्य बजार क्षेत्रमा बढ्दो सवारी चाप र सम्भावित सडक दुर्घटनालाई मध्यनजर गर्दै पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले गति नियन्त्रणसम्बन्धी सुरक्षा सूचना बोर्ड स्थापना गरेको छ। समूहले वडा भित्रका प्रमुख बजार क्षेत्र बडाबारी, अधिकारीचोक र मंगलबारे बजारमा सडक सुरक्षालाई प्राथमिकता दिँदै उक्त बोर्ड राखेको हो।

सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस पहलले सवारी चालकलाई सचेत गराउँदै दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको समूहका अध्यक्ष सागर पोर्तेलले बताउनुभयो। उहाँका अनुसार स्थानीय स्तरमै सचेतना अभिवृद्धि गर्दै सुरक्षित यातायात वातावरण निर्माण गर्ने लक्ष्यका साथ समूहले यो कार्य अगाडि बढाएको हो।

बोर्ड स्थापना कार्यक्रममा वडा अध्यक्ष सन्तकुमार थापा, वडा सदस्यहरू सुरेन्द्र बाराकोटी र भगिरथा दाहाल लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यसैगरी वन समूहकी उपाध्यक्ष सर्मिला लामिछाने, सचिव सालिकराम पराजुली, सह–सचिव भरत ढकाल सहित कार्यसमिति तथा टोलीका सदस्यहरूको सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रममा जलथल प्रहरी चौकीका इन्चार्ज सञ्जय चौधरी, स्थानीय बजार व्यवस्थापन समितिका प्रतिनिधि तथा अन्य सरोकारवाला व्यक्तिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सामुदायिक वन समूहले सडक सुरक्षाजस्तो महत्वपूर्ण विषयमा देखाएको चासोलाई सकारात्मक कदमका रूपमा लिँदै यस्ता कार्यक्रमले स्थानीय बासिन्दा तथा यात्रुहरूलाई थप सचेत बनाउने विश्वास व्यक्त गरेका छन्।  सामाजिक अभियानले सुरक्षित र व्यवस्थित बजार क्षेत्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search