झापा जिल्लाको हल्दीबारी गाउँपालिका मा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत अर्धवार्षिक समीक्षा बैठक सम्पन्न भएको छ। २०८२ साल चैत ९ गते आयोजित उक्त कार्यक्रममा गाउँपालिकाभित्र सञ्चालनमा रहेका कार्यक्रमहरूको प्रगति तथा आगामी कार्ययोजना सम्बन्धी विस्तृत समीक्षा गरिएको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली को अध्यक्षता रहेको थियो भने गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
समीक्षा कार्यक्रममा साझेदार संस्था Karuna Foundation Nepal का जिल्ला संयोजक निश्चल घिमिरे, पालिका संयोजक जगत बहादुर कामत, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, आधारभूत अस्पताल तथा स्वास्थ्य चौकीका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापकहरू, OPD अध्यक्षहरू लगायत सबै वडाका अपाङ्गता मिलिजुली समूहका पदाधिकारी र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी तृष्णा थापा मगर ले गर्नुभएको थियो।
समीक्षा बैठकले अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना, स्वास्थ्य सेवामा पहुँच विस्तार तथा समावेशी विकासलाई थप प्रभावकारी बनाउने दिशामा प्रतिबद्धता व्यक्त गरेको छ। साथै, आगामी दिनमा सेवामुखी कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै समुदायस्तरमै प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य लिइएको जनाइएको छ।