हावाहुरी र असिनापानीले हल्दिबारीमा मानविय सहित ठुलो भौतिक क्षति

झापा । पछिल्लो समय आएको हावाहुरी र असिनापानीसहितको प्राकृतिक विपत्तिले हल्दिबारी गाउँपालिकाका विभिन्न वडाहरूमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। विपत्तिपछि प्रभावित क्षेत्रहरूको यथार्थ अवस्था बुझ्न हिजो गाउँपालिकाका जनप्रतिनिधिहरूले स्थलगत अनुगमन गरेका छन् भने आज आकस्मिक रूपमा गाउँपालिकाको विपत् व्यवस्थापन समितिको बैठक बसेको छ।

गाउँपालिकाका अनुसार वडा नं. १, २, ४ र ५ का विभिन्न टोलहरूमा घर, गोठ , विधालय तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। बिधुतका पोल ढलेका कारण कतिपय क्षेत्रमा बिधुत अवरोध भएको छ ।साथै, कृषिबालीमा पनि उल्लेखनीय नोक्सानी भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। हावाहुरी र असिनापानीका कारण विशेषगरी धान, मकै लगायतका बाली नष्ट भएका छन् भने किसानहरू प्रत्यक्ष प्रभावित बनेका छन्।

प्रारम्भिक तथ्यांकअनुसार हालसम्म १३ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने धेरै घरहरू आंशिक रूपमा पनि क्षति पुगेको जनाइएको छ। यसैगरि १ महिना भित्रमा आएको हावाहुरीको घटनामा परेर ३ जनाको दुखद निधन भएको पुष्टि गरिएको छ, जसले स्थानीय समुदायलाई शोकमा डुबाएको छ।

विपत्तिपछि गाउँपालिकाले तत्काल राहत तथा उद्धार कार्यलाई प्राथमिकतामा राखेको छ। गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनका अनुसार क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको छ र पालिकाको प्रचलित कार्यविधि अनुसार क्षतिको प्रकृति हेरेर प्रभावित परिवारलाई राहत उपलब्ध गराइनेछ।

स्थानीय तह, सुरक्षाकर्मी तथा सरोकारवाला निकायहरूबीच समन्वय गरी थप क्षति न्यूनीकरण तथा प्रभावितहरूको व्यवस्थापनमा पहल भइरहेको गाउँपालिकाले जनाएको छ। साथै, मौसममा देखिएको अस्थिरता र आगामी दिनमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search