झापा। हल्दीबारी गाउँपालिकामा तराईन दलित समुदायका लागि कानुन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सम्यक परामर्श केन्द्र, इटहरीको आयोजना तथा कार्यक्रम संयोजक यज्ञकुमारी रूचालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री माननीय उमाकान्त गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले दलित समुदायको अधिकार सुनिश्चित गर्न कानुनी सचेतना अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले संविधानले प्रदान गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि नै जनचेतना अभिवृद्धि हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले स्थानीय तहले दलित समुदायको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कानुनी जानकारी अभावकै कारण धेरै नागरिकहरूले आफ्नो अधिकार उपभोग गर्न नसकेको अवस्था रहेको बताउँदै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
त्यसैगरी वडा उपाध्यक्ष मैनालीले स्थानीय स्तरमा रहेका विभेद, अन्याय तथा सामाजिक चुनौतीहरूको समाधानका लागि कानुनी सचेतना महत्वपूर्ण हुने धारणा राख्नुभयो। उहाँले दलित समुदायलाई आत्मनिर्भर र अधिकारप्रति सचेत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
कार्यक्रममा कार्यपालिका सदस्यहरू शान्ता शिवाकोटी, भगिरथा दाहाल, सुष्मा महरा, रूपा रसाइली तथा वडा सदस्यहरू शान्ता गहतराज, प्रकाश कार्की लगायतको समेत सक्रिय उपस्थिति रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा अधिवक्ता बद्रीप्रसाद पोखरेलले सहजीकरण गर्दै सहभागीहरूलाई नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक अधिकार, दलित समुदायसँग सम्बन्धित कानुनी प्रावधान, विभेदविरुद्धका कानुनी उपाय, उजुरी प्रक्रिया तथा न्याय प्राप्त गर्ने विधिबारे विस्तृत जानकारी गराउनुभएको थियो। उहाँले कानुनको जानकारीले मात्रै नागरिकलाई सशक्त बनाउने भन्दै हरेक व्यक्तिले आफ्नो अधिकारका विषयमा सचेत रहनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रम सहजीकरण गर्दै हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर महेन्द्रले अपराध त्यसमा हुने कानुनी व्यवस्था लगायतका बारेमा जानकारी गराउनु भएको थियो।
यसैगरी उहाँले स्थानीय सरकार नागरिकको अधिकार संरक्षण र सेवा प्रवाहमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले समुदाय र सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा करिब ४० जना सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रममा प्रस्तुत गरिएका विषयवस्तु उपयोगी रहेको प्रतिक्रिया दिँदै यस्ता कार्यक्रमले आफ्नो अधिकारबारे बुझ्न र व्यवहारमा लागू गर्न सहज हुने बताएका थिए।
कार्यक्रमले विशेषगरी तराइन दलित समुदायमा कानुनी सचेतना वृद्धि गर्ने, सामाजिक विभेद न्यूनीकरण गर्ने तथा न्यायमा पहुँच विस्तार गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।