लिङ्देनको सरकारलाई चेतावनी: ‘आन्दोलनमा अवरोध भए प्रतिकार गरिनेछ, हातमा दही जमाएर बस्दैनौँ’

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम गर्ने आन्दोलनका लागि कम्तीमा एक हप्ता काठमाडौँमै बसेर तयारीमा रहन कार्यकर्ता तथा समर्थकहरूलाई आह्वान गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले सरकारले आन्दोलनलाई दमन गर्ने वा कार्यक्रममा अवरोध पुर्‍याउने प्रयास गरेमा त्यसको प्रतिकार गर्न पछि नहट्ने चेतावनी दिए।

 

अध्यक्ष लिङदेनले भने, “हामीले पहिला पहिला गरेका आन्दोलनहरू मूल आन्दोलनको बाटो निर्माणका लागि गरेको आन्दोलन थियो। भोलिको आन्दोलन मूल आन्दोलन हो। भोलि सुरु मात्रै हो। हाम्रो आन्दोलन निरन्तर रूपमा रहन्छ। बाहिरबाट आउनुभएका साथीहरूलाई भोलि बेलुका फर्किने गरी पहिलाको जस्तो बसको, प्लेनको टिकटको व्यवस्था नगर्नुहोला। कम्तीमा एक हप्ता काठमाडौँ बस्नुपर्छ भन्ने सोचका साथ तयारीका साथ यहाँ रहनुहोला। बस्ने क्रममा कुनै प्रकारका असुविधा नहोस् भन्नेमा हामी सचेत छौँ।”

उनले जेठ १५ गतेको प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण हुने बताउँदै प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति सचेत रहन आग्रह गरे। लिङदेनले आन्दोलनलाई हिंसात्मक बनाउन सरकार वा सरकारबाट सञ्चालित संयन्त्रहरू क्रियाशील हुनसक्ने भन्दै कार्यकर्ताहरूलाई चनाखो रहन निर्देशन दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै लिङ्देनले ‘हार्ने बेलामा आत्तिएर आएको बोली जस्तो आइरहेको’ टिप्पणी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search