‘चुनावको दिन वर्षाको सम्भावना’

375 views

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको निर्वाचन हुने दिन (वैशाख ३०) गते वर्षाको सम्भावना रहेको जनाएको छ । दक्षिण बंगालको खाडीमा विकासित भइरहेको ‘असानी’ चक्रवातको आंशिक प्रभाव नेपालमा पनि पर्ने भएकाले महाशाखाले मतदातालाई सचेत हुन आग्रह गर्दै छाता लिएर मतदान केन्द्र जान आग्रह गरेको हो ।महाशाखाका मौसमविद् हिरा भट्टराईले बंगालको खाडीमा बनिरहेको असामी चक्रवात र स्थानीय वायुको संयुक्त प्रभावले त्यसदिन हल्का र मध्यम वर्षा हुने प्रक्षेपण गरिएको बताए । उनले भने, ‘मतदान केन्द्रमा सुविधा नहुन पनि सक्छ । मतदान केन्द्रमा जाँदा मतदाताले छाता लिएर जानु भयो भने राम्रो हुन्छ । ‘

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भातरको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । दक्षिण बंगालको खाडीमा विकासित भइरहेको ‘असानी’ चक्रवात उक्त प्रणाली उत्तर-पश्चिम (भारत) तर्फ सर्ने क्रममा छ । वैशाख ३० गतेसम्म उक्त चक्रवात कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने विभागले जनाएको छ । उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने र त्यसदिन हल्कादेखि मध्यम वर्षा हुने सक्ने विभागले जनाएको हो ।

विभागका अनुसार शुक्रबार प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिए । यस्तै, मधेस, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।

विभागकी प्रवक्ता विभूति पोखरेलले पनि मतदाताहरुलाई मतदान केन्द्रमा जाँदा त्यही अनुसारको तयारी गरेर जान आग्रह गरिन् । उनले पानी पर्ने भएकाले मतपेटिका कसरी सुरक्षित राख्‍ने मुख्य कुरा हुने बताइन् । उनले भनिन्,’पानी पर्न सक्ने सम्भावना रहेकाले मतपेटिकाको संरक्षण गर्न जरुरी देखिन्छ । मतपेटिका संरक्षण गरिएन भने मिहिनेत खेर जान्छ । त्यसका लागि सोही अनुरुपको तयारी गर्नुपर्छ । ‘ उनले पनि छाता बोकेर जान सुझाव दिइन् ।

मतपेटिकामा मत खसाल्दा पानीले भिज्‍न सक्‍ने सम्भावना पनि हुने भएकाले विशेष तयारी आवश्यक रहेको उनले बताइन् ।

चुनावको अघिल्लो दिन तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना रहेकोविभागले जनाएको छ । बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसदिन प्रदेश १, मधेश प्रदेश, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन पनि निकालेको छ । विभागले बुधबारदेखि शनिबारसम्मको मौसम पूर्वानुमन निकालेको हो । बुधबार र बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने प्रक्षेपण गरेको छ ।

महाशाखाले मौसमी प्रणालीका कारण निर्वाचनमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search