भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी

झापाको भद्रपुर नगरपालिका–३ हात्तीमारामा चौथो संस्करणको सन्थाल नकआउट फुटबल प्रतियोगिता आज सुरु भएको छ ।
हात्तीमारा फुटबल क्लबको आयोजनामा हात्तीमारा फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधान तथा उर्जामन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)–का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गरेका थिए । प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुनेछ ।


क्लवका अध्यक्ष माराङ बास्केको अध्यक्षतामा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि लिङदेनले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । समारोहमा भद्रपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हेमबहादुर कार्कीले प्रतियोगिताको औचित्य बारे प्रकाश पार्दै प्रतियोगितालाई फुटबल खेलसँग मात्र सीमित नराखी सन्थाल समुदायको धर्म, संस्कृति र कलासँगसमेत जोडिएको बताए ।
भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, झााप उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष एवम् राप्रपा भद्रपुर नगर समितिका अध्यक्ष राजकुमार राईलगायतको उपस्थिति रहेको उद्घाटन समारोहमा ३ की महिला सदस्य भूवमाया मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आज भएको उद्घाटन खेलमा मोरङ कानेपोखरीको जूनतारा एफसीले केवाईसी एफसी भद्रपुर–३ लाई १ का विरुद्ध २ गोलले पराजित गर्यो ।
प्रतियोगितामा झापा र मोरङका गरी आठ टोलीले सहभागिता जनाएका छन् । आयोजक हात्तीमाराका ए र बी टोलीसँगै हल्दिबारी, बिर्तामोड, मेचीनगर, पन्थापारा, शनिश्चरे र मोरङको टोली प्रतियोगितामा सहभागी रहेको हात्तीमारा फुटबल क्लबका अध्यक्ष माराङ वास्केले जानकारी दिए ।
भद्रपुर नगरपालिका–३ नम्बर वडा कार्यालयको सहयोगमा आयोजना भएको प्रतियोगिताका लागि यस वर्ष पुरस्कार राशि समेत बढाइएको छ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ नगदसहित ट्रफी तथा शिल्ड प्राप्त गर्नेछ भने उपविजेताले ६१ हजार रुपैयाँ नगदसहित ट्रफी तथा शिल्ड पाउनेछ । प्रतियोगिताका प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कारको रकम राप्रपा भद्रपुर नगर अध्यक्ष राजकुमार राईले प्रदान गरेका छन् । दोस्रो पुरस्कारको रकम कृष्ण खड्कासहित विभिन्न सहयोगीबाट उपलब्ध हुने जनाइएको छ । प्रतियोगिताका लागि वडा कार्यालयले ३ लाख २० हजार रुपैयाँ सहयोग गर्नेछ भने बाँकी रकम विभिन्न सहयोगी तथा दाताबाट संकलन गरिने आयोजकले जनाएको छ ।
मुख्य प्रतियोगितासँगै अन्डर–१५ र भेट्रानतर्फ पनि छुट्टाछुट्टै प्रतियोगिता पनि सञ्चालन गरिएको छ ।
स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटनसँगै सन्थाल समुदायको मौलिक संस्कृति संरक्षण र प्रवद्र्धनमा समेत प्रतियोगिताले योगदान पुर्याउने वडाध्यक्ष कार्कीले बताएका छन् । हात्तीमारामा हुने फ्टबल प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थिति रहँदै आएको पनि वडाध्यक्ष कार्कीले बताए ।
माधव पोखरेलले सञ्चालन गरेको उद्घाटन समारोहमा सन्थाल नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search