एनआरएनए एनसीसी कप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले सहज जित निकालेको छ । पहिलो खेल हार ब्यहोरेको नेपालले दोस्रो खेलमा २९ रनले विजयी भयो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर एक बलमा दुई सय ५० रनमा अलआउट भयो । नेपालका लागि आजको खेलमा कप्तानी गरेका रोहित पौडेलले शतक प्रहार गरे । उनले ९० बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए ।
नेपालले सुरुवात भने राम्रो गर्न सकेन । मात्र चार रन हुँदा ओपनर कुशल भुर्तेल ब्यक्तिगत एक रनमा आउट भए । त्यसपछि सुनील धमला ब्यक्तिगत १३ रनमा आउट हुँदा नेपालले ३७ रनमा दोस्रो विकेट गुमायो । लगत्तै ३८ रन हुँदा नेपालले तेस्रो विकेट गुमायो । देब खनाल ब्यक्तिगत १९ रनमा पेभेलियन फर्किए ।
नेपालले दुई विकेट गुमाएपछि क्रिजमा आएका रोहितले दिपेन्द्रसिंह ऐरीसँग ६१ रनको साझेदारी गरेका थिए । त्यपछि उनले आरिफ शेखसँग शतकीय साझेदारी गरेका थिए । उनले पाँचौं विकेटका लागि आरिफसँग एक सय आठ रनको साझेदारी गरेका थिए ।
दिपेन्द्रसिंह ऐरी २४ रनमा आउट हुँदा नेपालको स्कोर ९८ रन थियो । त्यसपछि नेपालको स्कोर दुई सय ६ रन हुँदा पाँचौं विकेट झरेको थियो । रोहित शतक बनाएर आउट भए । त्यसपछि विनोद भण्डारी ब्यक्तिगत चार रनमा आउट भएपछि नेपालले दुई सय १९ रनमा ६ विकेट झरेको थियो ।
त्यसपछि आरिफ शेख ब्यक्तिगत ४१ रनमा आउट भएपनि नेपालले दुई सय २८ रनमा सातौं विकेट खेर फाल्यो ।
त्यसपछि सुसन भारी ब्यक्तिगत पाँच रनमा आउट हुँदा नेपालले दुई सय ३४ रनमा आठ विकेट गुमायो । नेपालको स्कोर दुई सय ३९ रन हुँदा करण केसी ब्यक्तिगत १२ रनमा आउट भए ।
बलिङमा मोहम्मद इलियासले पाँच विकेट लिए भने हरमित सिंहले दुई विकेट लिए । जवाफमा ह्युस्टन हुरिकेन्स ४३ ओभर तीन बलमा दुई सय २१ रनमा अलआउट भयो । उसका निनाद निम्बाल्कर ९९ रनमा आउट भए ।
उसले पनि सुरुवाता खासै राम्रो गर्न सकेन । हुरिकेन्सको २७ रन हुँदा पहिलो विकेट गुमेको थियो । ओपनर मुनिब चौधरी मात्र पाँच रनमा आउट भए । त्यसपछि एन्द्रियस गोउस ब्यक्तिगत २८ रनमा पेभेलियन फर्किृदा हुरिकेन्सले ३९ रनमा दोस्रो विकेट गुमायो ।
त्यसपछि उसको स्कोर ७० रन हुँदा तेस्रो विकेट गुमायो । नितेश कुमार १० रनमा आउट भए । लगत्तै हुरिकेन्सले चौथो विकेट गुमायो । उसका रमिज राजा जुनियर २९ रनमा आउट भए । जसका कारण ७४ रनमा चौथो विकेट गुमायो ।
हुरिकेन्सको मिडिल अडरमा राम्रो साझेदारी हुन सकेन । उसका मार्टी केनी ब्यक्तिगत तीन रनमा आउट भए । त्यसपछि सक्लिन हैदर पाँच रनमा आउट हुँदा हुरिकेन्सको एक सय तीन रनमा ६ विकेट गुमायो । हुरिकेन्सको स्कोर एक सय ५१ रन हुँदा सात विकेट झरेको थियो । गौरब बजाज मात्र १५ रनमा आउट भए ।
हुरिकेन्सले एक सय ७२ रन बनाउँदा आठौं विकेट गुमायो । उसका उस्मान रफिक ब्यक्तिगत १२ रनमा आउट भए । त्यसपछि हरमित सिंह ब्यक्तिगत तीन रनमा आउट हुँदा हुरिकेन्सले एक सय ९७ रनमा नौं विकेट गुमायो ।
हुरिकेन्सका लागि निनाद निम्बाल्करले ८१ बलमा १२ चौका र दुई छक्काको मद्दतले ९९ रन आउट भए । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किदा नेपालको जित सुनिश्चित भयो ।
बलिङमा सोमपाल कामीले पाँच विकेट लिए भने सागर ढकालले दुई विकेट लिए ।