राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं ३ ले संघीयता खारेजीको माग गर्दै झापाको भद्रपुर बजारमा विरोध प्रदर्शन गरेको छ। नागरिकता विधेयक, बढ्दो महंगी , एमसीसी र संघीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले पम्पलेट सहित प्रदर्शन गरेर कोणसभा गरेको छ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रेको राप्रपाले जनाएको छ।
संगम चोक बाट सुरु भएको बिरोध प्रदर्शन भद्रपुर बजारमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै राप्रपा क्षेत्र नं ३ प्रदेश ख का अध्यक्ष एवंम हल्दिवारी गाउँपालिका प्रमुख रविन्द्र लिङदेनले राष्ट्रियता जोगाउन अव सबै नेपालीहरु लाग्नुपर्ने बताएका छन्। गठबन्धनको नाममा जनतालाई झुक्याउने यो सरकारको नेतृत्व फेल भएको भन्दै नागरिकता विधयेक खारेज गर्न माग गर्दै,यो माग सम्बोधन नभए अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो ।