भूकम्पबाट खोटाङमा केही घर चर्किए, क्षतिको विवरण संकलन गर्दै प्रशासन

343 views

खोटाङको साकेला गाउँपालिका-५ मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्नीच्युडको भूकम्प गएको छ। आइतबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको हो।

Advertisement

भूकम्पबाट खोटाङमा केही घरमा क्षति पुगेको छ। साकेला-५ का वडाध्यक्ष जीवन न्यौपानेले मात्तिमबिर्तामा एक घर चर्किएको बताए। ‘अहिलेसम्म हामीले एक घर चर्किएको र एक घरको टायल खसेको खबर पाएका छौं,’ उनले भने।

हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरिएको बताएकी छन्। यस्तै, हलेसी तुवाचुङ–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले बताए।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले हालसम्म मानवीय क्षतिको विवरण नआएको जानकारी दिएका छन्। ‘मानिस आत्तिएका थिए। घरबाहिर निस्किएर मानिसको भागाभाग भएको थियो। अहिले अवस्था सामान्य छ,’ उनले भने।

खोटाङस्थित पत्रकार दमन दाइले अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको बताएका छन्।

पूर्वी नेपालमा भूकम्प गए पनि काठमाडौं उपत्यकासहित सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, धादिङलगायतका जिल्लामा पनि धक्का महसुस गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search