भद्रपुर । झापाको भद्रपुर ८ मा विभिन्न पार्टी छाडेर २ सय भन्दा बढी राप्रपामा प्रवेश गरेका छन् । अन्य पार्टीले देश विगारेर भष्ट्रचारमा लिप्त भएको भन्दै पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरका हुन् ।
राप्रपा भष्ट्रचार विरोधी भएकोले पार्टीको गतिविधि मन परेर सदस्यता लिएको उनीहरुले जनाएका छन् । शुक्रबार विहान मात्र भद्रपुर ८ मा आयोजित पार्टी प्रवेशको कार्यक्रममा अध्यक्ष लिङ्देनबाट २ सय भन्दा बढी नागरिकले पार्टीको सदस्यता लिएका थिए । विशेष गरी एमाले र काँङ्ग्रेमा लामो समयसम्म आवद्ध रहेका नागरिकले पार्टी परित्याग गरी राप्रपाको सदस्यता लिएका थिए ।
अध्यक्ष लिङ्देन, केन्द्रीय सदस्य नवराज पनेरु(राजु) लगायतले सदस्यता वितरण गर्दै स्वागत गरेका थिए । पार्टीका वडा नम्बर ८ का अध्यक्ष अम्बीका पोखरेलको सभापतित्व तथा अध्यक्ष लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला तथा स्थानीय नेताहरुको उल्लेखिय सहभागिता रहेको थियो । पछिल्लो समय विभिन्न पार्टी परित्याग गरेर राप्रपा प्रवेश गर्नेको लहर चलेको छ । यता निर्वाचन आयोगले सङ्घ र प्रदेशको निर्वाचन मिति तोकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको गतिविधि तीब्र बनाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले संघ र प्रदेशको निर्बाचनका लागि पार्टीले झापाबाट तयारी तीब्र पारेको बताएका छन् ।
झापा क्षेत्र नम्वर –३ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुने लक्ष्यकासाथ अध्यक्ष लिङ्देनले जिल्लामा चुनावी गतिविधि शुरु गरेका हुन् । केही दिन यता देखी गृहजिल्ला रहेका लिङ्देन पार्टीको सदस्यता वितरणमा व्यस्त देखिएका छन् । समारोहमा बोल्दै अध्यक्ष लिङ्देनले सङ्घ र प्रदेशको निर्बाचनका लागि विभिन्न अनुभव सङ्गालेका थुप्रै सम्भावित व्यक्तिहरु रहेको र उनीहरुलाई निर्वाचनका लागि तयारी अवस्थामा राखिएको बताएका छन् । आफ्ना देवीदेवता भनेकै झापा क्षेत्र नम्वर ३ का मतदाता भएकोले देवीदेउता छाडेर अन्त नजाने उनले बताए ।