स्थानीय महासंघ कचनकवलको आयोजनामा भएको पाँच दिवसीय लेखा तालिम आज सम्पन्न भएको छ। वनका सदस्य तथा सहभागीहरूलाई लेखा संगै माइन्युट तथा प्रस्तावना लेखन सम्बन्धी प्रशिक्षण दिइएको थियो। सामुदायिक वन उपभोक्ता समूहहरूले के कसरी हिसाबकिताब चुस्त दुरुस्त बनाउने, वार्षिक कार्यक्रम कसरी बनाउने लगायतका विषयमा प्रयोगात्मक प्रशिक्षण दिइएको थियो।
५ दिन सम्म चलेको तालिमको समापनको दिन सहभागी मध्ये पूर्व देउराली सामुदायिक वन समूहका अध्यक्ष पदम राईले ५ दिवसिय यो तालिमले वन समूहहरूलाई अत्यावश्यक पर्ने धेरै कुरा सिकाएको भन्दै तालिम फलदायी रहेको धारणा राखेका थिए भने त्रिवेणी सामुदायिक वन समूहकी सचिव लिला राउतले लेखा सम्बन्धी यस्तो तालिमले काम गर्न सहज हुने भन्दै आयोजक स्थानीय महासंघ कचनकवललाई धन्यवाद दिएकी थिइन्। स्थानीय महासंघ अध्यक्ष भिमप्रसाद लुइटेलले सामुदायिक वनहरूलाई कार्यालय संचालन सजिलो बनाउने तथा वार्षिक कार्यक्रम बनाउन सहज होस् भनेर यो तालिमको आयोजना गरिएको बताए। सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी ले प्रशिक्षण दिएको कार्यक्रममा त्रिवेणी र पूर्व देउराली सामुदायिक वन उपभोक्ता समूह सहभागी भएका थिए भने तालिमको सहजीकरण श्यामराजा पुरीले गरेका थिए।