काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

निर्वाचन घोषणा भइसकेपछि सेवा सुविधा लिन नहुने पार्टीको धारणा रहेको उनले सुनाए । निर्वाचन घोषणा भएपछि आफूले चुनावी सरकार बनाउन आग्रह गरे पनि कसैले नसुनेको उनको भनाइ छ ।
“जब चुनावको घोषणा भयो, त्यसपछि संसद् जीवित राख्नु हुँदैन भन्ने थियो,” उनले भने, “चुनावी सरकार बनाउनुपर्छ भन्ने धारणा थियो ।”
लिङदेनले आजदेखि आफू संसद्मा नआउने भन्दै आफ्नो नामको तलबभत्ता रोक्न समेत आग्रह गरे । “मेरो नाममा पठाइने तलब सुविधा, भत्ता रोक्का गरियोस्,” उनले भने, “यस्तो प्रकारको अनैतिक काममा संलग्न हुन अन्तरआत्माले मानेन । अन्तरआत्माको निर्देशनानुसार आज यी सबै चिज त्याग गर्न उपस्थित भएको छु । ”
उनले अब एक्लो सांसदका रूपमा नभई पहिलो पार्टीका रूपमा उपस्थित हुने अठोटका साथ जनताका बीचमा जान लागेको समेत बताए ।










