नवलपुर- नवलपुर जिल्ला अदातलले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ। तर उनले बाल यौन दुरुपयोग गरेको भन्दै अदालतले अढाई वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत भनेको छ। सरकारी वकिलको तर्फबाट तीन जनाले बहस गरेका भएपनि अन्तिम बहसमा भने जाहेरवालातर्फबाट कसैले बहस गरेनन्। पलको पक्षबाट ६ जना वकिललले वकालत गरेका थिए।
गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो। तर पछि पीडितले नै बयान फेरेकी थिइन्।
नाबालिग एक गायिकाले आफूमाथि शाहले बिहे गर्ने आश्वासन दिई पटकपटक बलात्कार गरेको आरोप लगाएर तनहुँ र नवलपुर अदालतमा उजुरी दिएकी थिइन्। मुद्दा दायर भएपछि दुवैतर्फका जिल्ला अदालतले पुर्पक्षका लागि शाहलाई कारागार पठाउने आदेश दिएका थिए।
त्यसपछि शाहका कानून व्यवसायीले दुवै जिल्लाको आदेश बदर गरी साधारण तारेख वा धरौटीमा छाड्न माग गरी उच्च अदालत पोखरामा निवेदन दिएका थिए। तर उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो। घटना र घटनास्थल फरक भएकाले दुवैतर्फ पलविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलिरहेको थियो।
बिहेको प्रलोभन देखाएर पटकपटक जबर्जस्ती करणी गरेको आरोप लगाएकी ती गायिकाले भने गत बैशाखमा दुवै अदालतमा बकपत्र दिन जाँदा आफूलाई पलले बलात्कार नगरेको, जाहेरी पनि अरुको उक्साहट र दबाबमा दिएको भन्दै बयान फेरेकी थिइन्।