झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा मगर ले सरकारी सवारी साधन नलिने घोषणा गरेका छन्। आफ्नो सवारी साधन लिने सोच नभएको र यसलाई बाहिर प्रचार गर्ने कुनै सोच नभए पनि सामाजिक सञ्जालमा केही व्यक्तिहरूले गलत अफवाह फैलाउने काम गरेकाले संचारमाध्यम बाट घोषणा गरेकाे जानकारी दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी बाट निर्वाचित उनले हल्दिबारी गाउँपालिका वडा नं ५ को भवन निर्माणका लागि साढे चार कठ्ठा जग्गा जसको हालको मूल्य लगभग ६५ लाख पर्ने यसअघि नै उपलब्ध गराएका छन्। झापा न्युज संग कुरा गर्दै उनले भने ” आफू निरन्तर जनताको काममा लागेकोले यस्ता कुरा प्रचार गर्ने कुनै ईच्छा नभएपनि बारम्बार सामाजिक सञ्जालमा प्रहार भएपछि बाध्य भएर बोल्नु परेको बताएका छन्।
जनताको मन र मत जितेर निर्वाचित भएकोले जनताकै सेवा गर्ने बताउँदै उनले भने ” मैले अहिले सम्म सरकारी सवारी साधन लिएको छैन र लिने भए लिइसक्ने थिए, तर केही मान्छेहरु नकारात्मक भ्रम छरेर मलाई कमजोर बनाउन हात धोएर लागेका छन् ” उनले फेरि थपे “ठूला ठूला सपना बाँडेर चुनाव जितेको पनि होइन,प्रलय हुने गरी परिवर्तन गर्न गाउँपालिका संग बजेट पनि छैन तर भएको स्रोत र साधनको सहि सदुपयोग गरी हल्दिबारीलाई समृद्ध बनाउने प्रयास जारी रहनेछ।
अघिल्लो पटक आफू पराजित हुदाँ पनि सधै जनताको साथमा रहेको र निर्वाचित भएर आएपछि अझै जिम्मेवारी बढेको बताउँदै “बालमैत्री स्थानीय तह बनाउन आफ्नो वडाले सबैभन्दा पहिला वडास्तरीय बालकल्ब गठन गरिसकेको र त्यसलाई कार्यान्वयन गराउन आफ्नो सेवा सुविधा बापत आउने रकमबाट १० हजार बालबालिकाको क्षमता अभिवृद्धिको लागि बालक्लब लाई दिने पनि घोषणा गरेका छन्। भोलीका भविष्यका कर्णधार, यो देशको महत्वपूर्ण ठाउँको प्रतिनिधित्व गर्ने बालबालिकालाई प्रोत्साहन र हौसला दिन साथै हल्दिबारी गाउँपालिकाको बालमैत्री स्थानीय तह बनाउने लक्ष्य पूरा गर्न आफूले यो कदम चालेको बताएका छन्। जलथल फुटबल क्लबका कोच भएर काम गरिसकेका मगर खेलकुद साथै सामाजिक कार्यमा सक्रिय युवाका रूपमा हल्दिबारीमा परिचित रहेका छन्।