अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘डिसेम्बर फल्स’ आगामी पुष ८ गते (डिसेम्बर २३, २०२२) प्रदर्शन हुने भएको छ । कथावस्तुसँगै उक्त महिनासँग फिल्मको नाम पनि मिल्ने भएकाले निर्माण टिमले डिसेम्बर २३ मा फिल्म प्रदर्शन गर्न लागेको हो । तर, निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गरिसकेको भने छैन ।
यतिबेला ‘डिसेम्बर फल्स’को अन्तिम चरणको छायांकन भइरहेको छ । छायांकन सकिएको जानकारीसहित प्रदर्शन मिति घोषणा गर्ने योजनामा निर्माण टिम रहेको छ । पहिलो लकडाउन खुलेपछि फिल्मको निर्माण घोषणा गरेर छायांकन सुरु गरिएको थियो । तर, पछि विभिन्न कारणले अधुरैमा छायांकन रोकियो । अहिले फिल्मको क्लाइमेक्सको छायांकन भइरहेको जानकारी प्राप्त छ ।
प्रविण झाको निर्देशन रहेको फिल्मलाई महेश आर गुप्ताले खिचिरहेका छन् । उनीहरु दुवै भारतीय फिल्ममा कार्यरत छन् । युवक र युवतीबीचको उमेर अन्तरको कथामा निर्माण भएको फिल्ममा सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायत पनि कलाकारको रुपमा छन् । रोमान्टिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् ।
फिल्मका गीतमा दीपक शर्मा र कोशिश क्षेत्रीले संगीत भरेका छन् । राज कुमार भट्ट र लक्ष्मण रिजाल निर्माता रहेको यो फिल्मको पटकथा तथा संवाद केदार भुषाल तयार पारेका हुन् । पहिलो चरणको छायांकन सुरु नहुँदै फिल्मको युट्युब र अष्ट्रेलिया राइट्स एजुकेशन एन्ड माइग्रेसन कर्नरले किनिसकेको छ । यस फिल्मलाई श्रीराम बलाजी फिल्मस्का सुनिल मानन्धरले वितरण गर्नेछन् ।