झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ मा अवस्थित पाथीभरा सिंहकाली धार्मिक क्षेत्रमा बडादशैँको फूलपातीको दिन आज बि एण्ड सि हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले देवी भगवतीको मूर्ति स्थापित गरेका छन् । नौमती बाजासहित बि एण्ड सि हस्पिटलमा पुजा गरेर बजार परिक्रमा गर्दै देवी भगवतीलाई पाथीभरामा ल्याएर स्थापना गरिएको थियो।
पाथीभरा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो। मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष रेम खरेलले हल्दिबारवासीले गास काटेर पाथीभरा मन्दिर स्थापना गरेको र प्रसाईलाई मूर्ति को लागि आग्रह गर्दा एकैपटक मा स्विकार गरेर आज मूर्ति स्थापना सफल भएको जानकारी गराएका थिए भने यो क्षेत्रको चौतर्फी विकासका लागि सवैलाई लाग्न आग्रह गरेका थिए। यस्तै हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले यो धार्मिक क्षेत्रको लागि योगदान गरेकोमा प्रसाईलाई धन्यवाद ज्ञापन गरेका थिए।
मूर्ति राख्ने कार्यक्रम पश्चात बोल्दै दुर्गा प्रसाईले भने” म पाथीभरा माताको भक्त हु र भगवान को कृपाले आज मातालाई स्थापित गर्न सफल भएको छु” । उनले यसअघि नै ईलाम,पाउ पाथीभरा चाराली मा पनि देवीको मूर्ति राखिसकेका छन्।
कार्यक्रममा बि एण्ड सि हस्पिटलका डाक्टर तथा कर्मचारी, प्रहरी, संचारकर्मी सहित हल्दिबारीका हजारौँ भक्तजनहरूको उपस्थिति रहेको थियो कार्यक्रमको सहजिकरण हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले गरेका थिए।
आजै नवदुर्गा मन्दिर बडावारीवाट पाथीभरामा फूलपाती भित्र्याउने कार्य पनि सम्पन्न भएको थियो।