क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा लगिदै छ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीबार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई दसैं बिदाका कारण अदालत बन्द रहेकाले आज मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो।
सन्दीपलाई पक्राउ गरी हाल प्रहरी वृत्त गौशालामा राखिएको छ। कतारको दोहाबाट बिहीबार बिहान ११ बजे नेपाल आएका सन्दीपलाई काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।