झापा। हल्दीबारी गाउँपालिकाको आयोजना तथा हिमालयन एनिमल ट्रष्ट(हार्ट) पोखराको प्राविधिक सहयोगमा हल्दीबारी गाउँपालिकाले संचालन गरेको सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर आज २०७९ कार्तिक २९ गते एक संक्षिप्त कार्यक्रम बिच सम्पन्न भएको गरेको छ। प्राविधिक टिमका प्रबन्धक चन्द्र राई,डा. हिमाशु पोख्रेल,डा. सुदिती पनेरु डा.मनोज पौडेल लगायत १२ जनाको प्राबिधिक टिमले चार दिन सम्म रहेर उक्त कार्य सम्पन्न गरेका हुन् । शिविरमा गाउँपालिका भित्रका जम्मा २०३ वटा कुकुरहरुको बन्ध्याकरण गरिएकोमा ८३ वटा कुकुर पोथी जातका र बाकी डागो (male) जातका रहेको जानकारी उक्त टिमले दिएको छ । जसमध्ये वडा न १ बाट ६७ वटा,वडा न २ बाट १८ वटा,वडा नं ३ बाट २५ वटा,वडा नं ४ बाट ५१ वटा र वडा न ५ बाट ४३ वटा कुकुरहरु ल्याइएको थियो ।
सडक कुकुरहरुको कारण गाउँठाउँमा सडक दुर्घटना तथा बाख्रा मार्ने सम्मको जोखिम बढ्दै गएपछि न्यूनीकरणको प्रयास गर्दै उक्त शिविर सञ्चालन गरिएको पशुशाखा प्रमुख सानुमाया श्रेष्ठले प्रष्ट पारेकी थिइन्।
समापन कार्यक्रमको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले शिविर सफल पार्नमा भुमिका खेल्ने सबैलाई धन्यवाद दिदै आगामी वर्षहरुमा समेत यस्ता कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।