राप्रपा केन्द्रीय अध्यक्ष एवं झापा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्र लिङदेनले मतदाताहरुलाई आफूलाई मतदान गर्न अपिल गर्दै एउटा सन्देश दिएका छन् ।
मलाई सन्तोष र गर्वको अनुभूति हुन्छ कि मैले सांसद पदत्याग नगरेको भए राज्यकोषको दुई अर्ब रुपैया जोगिने थिएन मात्रै होइन, अहिले उमेदवार भइरहेका अधिकांश व्यक्तिहरु सांसदको रुपमा निर्वाचन लडिरहेका हुन्थे, निर्वाचनमा बिजय वा पराजय जे भएपनि नयाँ संसदको बैठक अघिसम्म सांसद रहन्थे । संसदको कार्यकाल लम्ब्याउने प्रपञ्च भइरहेको थियो । संसदको आयु सकिएपछि पनि जबर्जस्ती लम्ब्याउनु लोकतन्त्रको दुनियाँमा यो जस्तो लज्जाको विषय अर्को केही हुने थिएन ।
सांसदको रुपमा मेरो पाँच वर्षे कार्यकालमा राष्ट्र र राष्ट्रियताका पक्षमा, देश र जनताको पक्षमा, सत्य र न्यायको पक्षमा, जनजीविकाको पक्षमा र बेथितिका विरुद्धमा आफूलाई उभ्याएँ । पार्टीबाट एक्लो सांसदको रुपमा संसद छिरेको मलाई सांसद पदत्याग गरेर निस्कँदा एक्लै भएपनि राज्यकोषको दुई अर्ब रुपैयाँ जोगाउन सकेकोमा व्यक्तिगत रुपमा सन्तोष लाग्ने नै भयो, यो अवसर मलाई ०७४ को निर्वाचनमा अत्यधिक मत दिएर बिजयी गराउनुहुने झापा-३ का आदरणीय मतदाताका कारण प्राप्त भएको हो । त्यो माटोको ऋण मैले कहिले तिर्न सकुँला, त्यहाँका जनताको मुहारमा हाँसो र खुशी कसरी ल्याउने होला भन्ने चिन्ता मलाई भइरहन्छ । हामी सरकारमा गएनौं, विकासका लागि सरकारमा जानु नजानु भन्दा पनि इच्छाशक्ति ठूलो कुरा हो । हामीले इमानदारीताका साथ तदारुकता देखायौं र अघि बढ्यौं । झापा-३ मा विकासका मोडल तयार पार्यौं, शिक्षा, स्वास्थ्यमा सुधारका कामहरू गर्यौं, सडक, खानेपानी, पुल लगायत पूर्वाधार क्षेत्रका केही योजना पुरा भएका छन्, केही नवीन प्रयासको थालनी भएको छ । पाँच वर्षअघि र अहिलेको अवस्थामा सुधार भएको हामीले मात्रै होइन विपक्षीले समेत स्विकार गर्नुपर्ने अवस्था छ।
म फेरि झापाको क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदमा उमेदवार छु । यस क्षेत्रका आदरणीय मतदाताको माया, स्नेह, वात्सल्य र हौसला पाइरहेको छु, त्यसलाई मतमा रुपान्तरण गर्नका लागि विनम्रतापूर्वक आग्रह गर्दछु ।
राष्ट्रिय राजनीतिमा मेरो भूमिका र जिम्मेवारी थपिएको छ, कुनै महत्त्वपूर्ण निर्णय गर्नुअघि झापा-३ को माटो, यहाँका प्रिय मतदाताको अनुहार सम्झेर निर्णय लिने संकल्प गर्दछु ।
सधैं झैं फेरि दोहोर्याउन चाहन्छु :”भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर राजनीतिमा छु, जीवन पर्यन्त रहनेछु ।
अमूल्य भोट- हलोमा ।