पोल्याण्डलाई ३-१ गोलअन्तरले पराजित गरी फ्रान्स फिफा विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।
आइतबार राती कतारको दोहास्थित अल थुमाना रंगशालामा भएको खेलमा ओलिभर जिरोडको गोलमार्फत फ्रान्सले पहिलो हाफमा अग्रता बनाएको थियो । ४४औं मिनेटमा उनले केलिएन एम्बाप्पेको पासमा गोल गरेका हुन् ।
जिरोडले फ्रान्सका लागि ५२औं गोल गरी थिएरी हेनरीको नाममा रहेको सर्बाधिक गोलको कीर्तिमान आफ्नो नाममा सारे ।
दोस्रो हाफमा फ्रान्सले दुई गोल थप्दा दुवै गोल एम्बाप्पेले गरे । ७४औं र खेलको इन्जूरी समयमा भएका दुवै गोल शानदार फिनिसिङ्को नमूना थियो ।
खेलको अन्तिम मिनेटमा पोल्याण्डले पेनाल्टी पायो । रोवर्ट लेवाण्डोस्कीले पेनाल्टीमा गोल गरे ।
एम्बाप्पेले जारी विश्वकपमा आफ्नो गोलसंख्या ५ पुर्याएका छन् । उनी अहिलेसम्म सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । योसँगै एम्बाप्पेले अहिलेसम्म विश्वकपमा ९ गोल गरेका छन् ।
क्वाटरफाइनलमा फ्रान्सले आजै राती हुने इंग्ल्याण्ड र सेनेगलबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।