गोलकिपर डोमिनिक लिभाकोभिच नायक बन्दा एसियााली टोली जापानलाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नियमित र अतिरिक्त समयमा पनि दुवै टिमबाट १-१ गोल भएपछि खेलको नतिजा पेनाल्टीमार्फत निकालिएको हो ।दोहाको अल जानोव रंगशालामा क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले जापानका तीन खेलाडीको पेनाल्टी रोकेर टिमलाई जित दिलाए ।
उनले जापानका ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका लागि पेनाल्टीमा ताकुमा असानोले मात्र गोल गर्न सफल भए । क्रोएसियाका लागि निकोला भ्लासिच, मार्सेलो ब्राजोभिच र मारियो मलासिचले गोल गरे । मार्को लिभाजाको प्रहार भने पोष्टमा लागेको थियो ।
समूहमा पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीलाई हराएको जापानले नकआउट चरणमा पनि सुरुवाती अग्रता बनाएको थियो । ४४औं मिनेटमा दाइजेन माएदाले गोल गरेका थिए । तर, दोस्रो हाफमा क्रोएसियाले बराबरी गोल फर्काए । ५५औं मिनेटमा इभान पेरिसिकले गोल गरेका हुन् ।
क्रोएसियाले क्वाटरफाइनलमा ब्राजिल सँग प्रतिस्पर्धा गर्नेछ ।