काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदैछ। इस्वी संवतको नयाँ वर्षको पहिलो दिन आज अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो।
एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए।
उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको सहभागिता रहनेछ।
पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषदको समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाउने तयारी छ। विमानस्थलको उद्घाटनका अवसरमा आज पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिइएको छ।
महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रहसहित आज बेलुका घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ। उद्घाटनका दिन आज बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार विमानस्थलको उद्घाटनको दिन आजदेखि नै सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुनेछन्। यसअघि बुद्ध, यति र सौर्य एअरले परीक्षण उडानसमेत गरिसकेका छन्। २०३२ सालमा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि २०७३ सालमा विमानस्थलको शिलान्यास गरेर २०७४ सालदेखि निर्माण सुरु भएको हो।