सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिको भएको छ । सरकारका प्रतिनिधि तथा नेपाल चिकित्सक संघका प्रतिनिधि बीच प्रधानमन्त्री कार्यालयमा आइतबार बिहान भएको वार्तासँगै ६ बुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगति गरी चिकित्सकहरु काममा फर्कने भएका छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार सरकार एक साता भित्र नै ‘विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’लाई अध्ययन गरेर पुनरावलोकन गर्ने र त्यसलाई तत्काल कार्यान्वयन गर्ने सहमत भएको छ । यस्तै, भीभीआईपीको आवागमनको नाममा चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्नुका साथै अन्य संलग्न माथि पनि अनुसन्धान गरेर कारवाही अगाडि बढाउने सहमति समेत भएको छ ।
यसका साथै नेपाल चिकित्सक संघ र सरकारबीच स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि बनाइएको कानुनलाई पूर्णरुपमा लागु गर्दै त्यसलाई थप सशक्त बनाएर लैजाने विषयमा पनि सहमति भएको छ ।वार्तामा चिकित्सकहरुका तर्फबाट एनएमएका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाल, ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनी, तथा एनएमएका पूर्व अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ सहभागी भएका थिए । यस्तै नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेसहित स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह रहेका थिए।