नारायणगढ–मुग्लिङ सडक खण्ड अझै १५ दिन अवरुद्ध हुने

निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिङ सडक खण्डमा पुनः १५ दिन दैनिक चार घण्टा यातायात बन्द गरी काम गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बुधवार बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । पुस ५ गते देखि दैनिक चार घण्टा सडक बन्द गरी काम गर्दासमेत काम पुरा हुन नसकेपछि विस्फोटक पदार्थ प्रयोगको विकल्प सहित फागुन ७ गतेबाट लागु  हुने गरी मध्यान्न १२ बजे देखि अपराह्न ४ बजेसम्म थप १५ दिन दैनिक चार घण्टा यातायात पूर्णतया बन्द गरी काम गर्ने निर्णय गरिएको हो ।

गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० बन्द गरिएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदै छ ।

१५ दिन बन्द गरी काम गर्ने विषयमा निर्णय सँगै भित्तो काट्ने काम कठिन भएपछि उक्त बैठकले विस्फोटक पदार्थको अनुमतिका लागि मन्त्रालयमा सिफारिससमेत गरेको छ ।

नारायणगढ–मुग्लिङ सडक आयोजना प्रमुख इन्जिनियर किरण कार्कीका अनुसार तुइन र चिसेन्जी खोलामा निर्माणाधीन पुलको लागि भित्तो काट्ने काम कठिन भएपछि उक्त क्षेत्रमा विस्फोटक पदार्थ प्रयोगको लागि निर्माण कम्पनीले माग गरेको थियो । उहाँका अनुसार तुइन र चिसेन्जी दुबै खोलाको नारायणगढ तर्फको क्षेत्रमा कडा चट्टानका कारण काम कठिन भएको छ ।

नारायणगढ–मुग्लिङ सडक खण्डमा पछिल्लो समय निर्माणाधीन तुइन, चिसेन्जी, काली र सिमल ताल खोलाका पुलका लागि भित्तो काट्ने प्रयोजनमा बितेको दुई महिना उक्त सडक खण्ड दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिँदै आएको थियो । चारमध्ये तुइन र चिसेन्जी दुई खोलामा निर्माण गरिने पुलको लागि भित्तो काट्ने सकिएको छैन । ती दुई खोलामा निर्माण गरिने पुलको लागि भित्तो काट्ने काम कडा चट्टानका कारण ३० देखि ३५ प्रतिशत अझै बाँकी छ । इन्जिनियर कार्कीका अनुसार माथिल्लो भागमा काट्ने काम सकिएको छ तल्लो तहमा कडा चट्टानको कारण मेसिनले काम गरे पनि परिणाम दिन सकिएको छैन ।

नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि अनक कन्ट्रक्सनले एक अर्ब २५ करोड रुपियाँमा सम्झौता गरेको थियो । १५ पुलहरू मध्ये नौ वटा निर्माण सम्पन्न भइसकेका छन् । जुगेडी, रिग्दीखोला, काली खोला, तुइन खोला र चिसेन्जी खोलामा निर्माण काम जारी छ । २०७६ चैत ११ गते गरिएको उक्त सम्झौतामा २०७९ पुस ५ गते कार्य सम्पन्न गरी सक्नु पर्ने थियो । समयमा काम सम्पन्न नभएपछि २०८० पुस ९ गतेसम्म म्याद थप गरी सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search