यहाँको परिवर्तन थिएटरमा आज ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ । यही फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन् ।
विगत १० वर्षदेखि झापामा नाट्य कलाको प्रवद्र्धन गरिरहेको परिवर्तन थिएटरले विद्यालयमा नाट्य विधालाई व्यावहारिकरुपमा चिनाउन उत्सवको आयोजना गरिएको थिएटरकी अध्यक्ष कविता नेपालले बताउनुभयो ।
हरेक दिन चार नाटक मञ्चन हुने सो उत्सवमा उत्कृष्ट विद्यालयले पुरस्कार पाउनेछन् भने नाटक लेखन, अभिनय र निर्देशनका बारेमा प्रशिक्षणसमेत सञ्चालन हुनेछ । पश्चिम बङ्गालका प्रसिद्ध नाट्यकर्मी विश्वजित रोयले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको जनाउँदै अध्यक्ष नेपालले उत्सवमा मेचीनगरको परिवर्तन थिएटर र दमकको कदम थिएटरले आफ्नो नाटक प्रस्तुत गर्ने जानकारी दिनुभयो ।
झापाका मेचीनगर, विर्तामोड र दमकका कलाकर्मीले थिएटर स्थापना गरेको भए पनि मेचीनगर नगरपालिकाबाट नाटक घर निर्माणका लागि पाँच वर्षदेखि आश्वासन मात्र पाइरहेको अध्यक्ष नेपालले गुनासो गर्नुभयो ।