नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको हो। यो जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाए ।
यस्तै नेपालका कुशल भूर्तेल १, आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भएका थिए । यूएईका रोहन मुस्ताफाले २ र आयन अफजल खानले १ विकेट लिएका थिए ।
सोमबार वर्षाले खेल स्थगित गरेपछि मंगलबार खेललाई निरन्तरता दिइएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भई खेल अवरुद्ध हुन पुगेको थियो ।