झापा ।राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, कचनकवलद्वारा आयोजित प्रथम कचनकवल झापा जिल्ला पालिका स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
“स्वास्थ्यका निम्ति खेलकुद, राष्ट्रका लागि खेलकुद । लागू औषध दुव्र्यसन अन्त्य गरौं, खेलकुदलाई माया गरौ ।।” भन्ने नाराका साथ आयोजित उक्त प्रतियगितामा झापा जिल्ला भरिका १५ वटा स्थानिय तहहरू मध्ये विर्तामोड, मेचीनगर, अर्जुनधारा, भद्रपुर, शिवसताक्षी र दमक नगरपालिका त्यस्तै कचनकवल, बुद्धशान्ति, बाह्रदशी, हल्दिबारी र कमल गाँउपालिका गरी जम्मा १२ वटा पालिकाले सहभागिता जनाएका थिए ।
लक्ष्मी क्याम्पस अगाडि रहेको बनियानी खेल मैदानमा भद्रपुर नगरपालिका र दमक नगरपालिका बिच सम्पन्न भएको उक्त प्रतियोगिताको फाइलन खेलमा भद्रपुर नगरपालिकालाई पछि पार्दै दमक नगरपालिकाले शानदार जित हात पारेको हो ।
खेलको म्यान अफ दि म्याच दमक नगरपालिकाका जर्सी नं ४ का रोमन बस्नेतले ४ हजार सहित ट्रफि , मेडल र प्रमाणपत्र हात पारेका थिए । नेपालकै सबैभन्दा होचो स्थान कचनकवल, जुन समुद्री सतहबाट ५८ मिटरको उचाईमा अवस्थित छ, त्यस ठाउँलाई परिचित गराउनका निम्ति आयोजना गरिएको उक्त भलिबल प्रतियोगिताको प्रथम पुरस्कार राशी नगद रु ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा दोश्रो पुरस्कार नगद रु २७ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र, रहेको थियो।