झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ ले वडा को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत अति विपन्न ५० घरपरिवारका २५० जना लाई निशुल्क स्वास्थ्य बिमा परिचय पत्र वितरण गरेको छ।वडाका अति विपन्न परिवारहरू मध्ये बाट छनौट गरी ५० परिवारहरूलाई पहिलो चरणमा कार्ड वितरण गरिएको हो ।
वडाका नागरिकहरुलाई स्वास्थ्य सेवाको सहज पहुँच पुगोस् भनेर यो कार्यक्रम सुरु गरिएको र आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष सन्तकुमार थापाले बताए।
वडाध्यक्ष सन्तकुमार थापा को अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली प्रमुख अतिथि रहेकी थिइन् भने कार्यपालिका सदस्य भगिरथा दाहाल, वडा सदस्य सुनील बाराकोटी, स्वास्थ्य चौकी जलथल प्रमुख माधवप्रसाद यादव, प्रहरी चौकी इन्चार्ज देवेन्द्र आङदेम्बे,पाताञ्जल योग समितिका अध्यक्ष मिलन विश्वकर्मा लगायत अतिथि रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मैनालीले विकास भनेको निर्माण सँगै जनअपेक्षा सँग प्रत्यक्ष जोडिएका कार्यक्रम गर्नुपर्ने भन्दै स्वास्थ्य बिमाको कार्यक्रमले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने धारणा राखेकी थिइन्।यस्तै यादवले स्वास्थ्य सेवा नै सबैभन्दा ठूलो धन भएको भन्दै उत्कृष्ट कार्यक्रम भएको धारणा राखेका थिए।