झापा । झापा जिल्ला अन्तर्गतका स्वास्थ्य चौकीहरु को आ. व २०७९ / ८० न्युनतम सेवा मापदण्ड तयारीको समिक्षामा हल्दिबारी गाउँपालिका अन्तर्गतका ३ वटा स्वास्थ्य चौकिहरु क्रमशः गोलधाप ,हल्दिबारी र जलथल स्वास्थ्य चौकीले उच्च अंक प्राप्त गरि Green Scoring मा परेका छन्।
हल्दिबारीका ३ वटै स्वास्थ्य चौकीले ८५ प्रतिशत भन्दा धेरै अंक प्राप्त गरेका छन् जसमध्ये गोलधाप स्वास्थ्य चौकी ९५ प्रतिशत सहित झापा मै पहिलो बनेको छ।
स्वास्थ्य कार्यालय झापाले उच्चतम अंक प्राप्त गर्ने गोलधाप स्वास्थ्य चौकी र हल्दिबारी गाउँपालिका लाई एक कार्यक्रमका बिच सम्मान गरेको छ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए। वडा नं १ का वडाध्यक्ष एवम् स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष देवीबहादुर थापा, स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला, गोलधाप स्वास्थ्य चौकी इन्चार्ज यामप्रसाद न्यौपाने सहित झापाका सवै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु को उपस्थिति रहेको थियो।
उच्चत्तम अंक प्राप्त गर्ने स्वास्थ्य चौकी गोलधाप अवलोकन तथा अनुभव आदान प्रदान गर्ने क्रममा भ्रमण कार्यक्रम दुई समुहमा स्वास्थ्यकर्मीहरू आएका थिए।
कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्ष लिङदेनले न्युन बजेटमा पनि हल्दिबारीका सबै स्वास्थ्य चौकी उत्कृष्टमा परेको भन्दै काम गर्ने जोसजागर भए सकिने उदाहरण दिएको भन्दै गोलधाप सहित सबैलाई धन्यवाद दिएका थिए।
यसैगरी स्वास्थ्य कार्यालय झापाका प्रमुख बाराकोटीले गोलधाप स्वास्थ्य चौकीबाट अरू स्वास्थ्य संस्थाले पनि केही कुरा सिक्न सक्ने भन्दै सबैलाई स – साना कुरालाई मध्यनजर गरेर अघि बढ्न प्रेरित गरेका थिए।
आफ्नो धारणा राख्दै स्वास्थ्य शाखा प्रमुख निरौलाले गोलधाप स्वास्थ्य चौकीका सबै स्वास्थ्यकर्मीहरु, व्यस्थापन समिति र जनप्रतिनिधिहरूको सक्रियताले यो सफलता प्राप्त भएको भन्दै आभार प्रकट गरेका थिए।
वडाध्यक्ष देवीबहादुर थापाले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन
स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले गरेका थिए।
सहभागी स्वास्थ्यकर्मीहरुले न्युनतम मापदण्ड पुरा गर्न हल्दिबारी गाउँपालिकाका स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरूको प्रयास सर्हानिय भएको धारणा राखेका थिए।