झापा।हल्दिबारी गाउँपालिका मा गरिब तथा बेरोजगारहरुका लागि संचालन भइरहेको १ महिने पलम्बर तालिम आज समापन भएको छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको संयोजनमा कुल २ लाख ५० हजार बजेटमा संचालन भएको तालिममा ५ वटै वडाबाट रोजगार शाखामा सुचिकृत भएका नागरिकहरु बाट ३ जनाका दरले छनौट गरिएको थियो। तालिममा२ महिला सहित १५ जना सहभागी भएका थिए ।
सहभागीहरूलाई सैद्धान्तिक साथै प्रयोगात्मक अभ्यास सहित प्रशिक्षक टेकबहादुर राईले सिकाएका थिए।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको समापन कार्यक्रममा योजना शाखा प्रमुख राजन न्यौपानेले स्वागत सहित तालिमको को औचित्य माथि प्रकाश पारेका थिए।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले १ महिना सम्म सिकेको प्राविधिक सिपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई अनुरोध गरेका थिए।
सिपलाई व्यवसायमा परिणत गरी आय आर्जन गर्न सकिने भन्दै उनले आर्थिक वर्ष २०८०/८१ मा विधालय स्तरमै प्राविधिक शिक्षा लागु गर्ने तयारी पूरा गरेको जानकारी दिएका थिए।
हल्दिबारी गाउँपालिकाले १० हजार लिटर सम्म खानेपानी निशुल्क गरेको छ भने खानेपानी विस्तार कार्यलाई पनि निरन्तरता दिइरहेको छ जसले गर्दा पनि आफ्नै ठाउँमा प्राविधिकहरुले काम पाउने सम्भावना रहेको छ।
सहभागीहरूले पनि तालिम सफल भएको र अव काम आउदा गर्न आफूहरु सक्षम भएको बताएका थिए।
समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र सहित काम सुरु गर्न सहज होस् भनेर आवश्यक पलम्बर सामाग्री पनि वितरण गरिएको थियो।
कार्यपालिका सदस्यहरू भगिरथा दाहाल र बिजय राजवंशीले शुभकामना मन्तव्य राखेकाे कार्यक्रमको संचालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले गरेकी थिइन्।