झापा।हल्दिबारी गाउँपालिकामा रहेका कुष्ठरोग तथा हात्तीपाइले रोगका विरामीहरुलाई लक्षित गरेर स्वयमहेरचाह सम्बन्धी २ दिने तालिम आज समापन भएको छ ।
विश्वास परियोजना र करूणा फाउडेशनको सहयोगमा भएको कार्यक्रममा कुष्ठरोग तथा हात्तीपाइलेका बिरामीहरूले आफ्नो आँखा,हात, खुट्टा तथा शरिरको हेरचाह कसरी गर्ने,के गर्न हुन्छ,के गर्न हुँदैन लगायतका विषयमा फेयरमेड फाउन्डेसनका प्रवेश रिजालले जानकारी गराएका थिए।
घरमै बसेर नियमित हेरचाह गरे यि रोगले निम्त्याउने अन्य समस्यालाई केही कम गर्न सकिने करूणा फाउन्डेसनका अंकित पाठकले बताए।
कार्यक्रममा हल्दिबारी गाउँपालिकाका यि रोगका संक्रमितहरुको सहभागिता रहेको थियो। उनीहरूलाई स्वयमहेरचाह सम्बन्धी प्रयोगात्मक अभ्यास पनि गराईएको थियो भने कुष्ठरोग संक्रमितका लागि विशेष जुत्ता पनि संस्थाहरूले उपलब्ध गराउने भएका छन्।
कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, स्वास्थ्य शाखा प्रमुख प्रकाश खतिवडा लगायतको उपस्थिति रहेको थियो।
हल्दिबारी गाउँपालिकाको सम्पर्कमा कुष्ठरोगको औषधी सेवन गरिराखेका र कुष्ठरोग प्रभावित व्यक्तीहरु जम्मा ३० जना रहेका छन् भने हात्तीपाइले रोग लागेका ३ जना रहेको स्वास्थ्य शाखा प्रमुख खतिवडाले जानकारी दिए।