झापा। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानमा विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको हल्दिबारी गाउँपालिकाले आज महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क जाँच ( VIA) कार्यक्रम सम्पन्न गरेको छ।
हल्दिबारी आधारभुत अस्पतालमा बिहान १० बजेदेखि सुरु भएको चेकजाँचमा ६० जना महिलाहरूले सेवा लिएको महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी दिइन्।
औपचारिक कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,वडा नं २ का अध्यक्ष शुकलाल राजवंशी,४ नं वडाका वडाध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य शान्ता शिवाकोटी, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले स्वास्थ्य सम्बन्धी दिदीबहिनीहरु लाई आउन सक्ने समस्याको पहिचान गर्न यो कार्यक्रम गरिएको र कसैलाई समस्या देखिए थप सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए।
यस्तै उपाध्यक्ष मैनालीले कुनैपनि रोग लुकाएर राख्न नहुने त्यसमा पनि पछिल्लो समयमा पाठेघरको समस्या बढ्दै गएकाले सबैले स्वास्थ्यमा ध्यान दिनुपर्ने धारणा राखेकी थिइन्।